Last modified on 4 मार्च 2017, at 22:33

उड्दा-उड्दै परेवा त्यो / धीरेन्द्र प्रेमर्षि

उड्दा-उड्दै परेवा त्यो आकाशमै ढलेको छ
चारो छर्ने हातबाटै गोली हजुर चलेको छ

अमृत फल्ने आसमा नै शहीदले रगत सिँचे
तैपनि त्यो फूलबारीमा विषै किन फलेको छ -

सङ्कटको बादल फार्न सूर्य रच्छु भन्दै थियो
पौरखी त्यो कलम उफ् ! हिँड्नै नपाई गलेको छ

सबै भन्छन् तेरो आँगन पार्दै छौँ उज्यालो
यही अनुसन्धानमा घर त मेरो जलेको छ

मेरो मुहार हँसाउनलाई मेरै दुवै हातले
मलम भन्दै मेरै घाउमा नुन-चुक दलेको छ

बत्ती सारा निभे पनि, जून-तारा उँघे पनि
'प्रेमर्षि' को छातीभित्र प्रेम-दियो बलेको छ ।