Last modified on 28 फ़रवरी 2017, at 15:58

उद्घोष / श्यामदास वैष्णव

साहस छ
भने आफूमा
हरमान्छे
सगरमाथाको प्रतीक बन्न सक्छ
निष्ठा छ भने धरतीमाथि
हर प्राणी गाथा बन्न सक्छ ।
आवश्यकता छ केवल
सचेतनताको यहाँ
होश छ भने हर व्यक्तित्व
बुद्ध यहाँ बन्न सक्छ ।
विवेकशील छ भने हर मान्छे
हितकारी शिव बन्न सक्छ ।

सोची विचारी हेर्दा
ईश्वरत्वको प्रतिनिधित्व
मान्छेले नै गरेको पाइन्छ यहाँ
विकार र विकृति समन गरी
उसले युग फेरेको देखिन्छ यहाँ
वास्तविकता गुह्य कुरा गरौं त
अन्तरनिहित चैतन्य नै
ईश्वरको अंश हो भन्न सकिन्छ
समष्टि हितमा जो अघि सर्छ
उसलाई नै महत्वको
मान्न सकिन्छ ।