Last modified on 27 जुलाई 2020, at 17:42

उपहार नानीहरूलाई / सुदीप पाख्रिन


म मेरा नानीहरूलाई
खेलाउन दिइरहेको छु-कविताहरू।
नानीहरू पनि खेलिरहेका छन्, एकधुनले
कहिले भाडाकुटीझैं बनाएर

कहिले गुडियालाई झै बिहे गरिदिएर
कविताहरूलाई।
म निश्चिन्त छु जब अघाउनेछन् उनीहरू
यी भाडाकुटीका खेलहरूबाट
उनीहरू आफैंले तिखार्नेछन् यी कविताहरूलाई
बनाउनेछन् धारिला
एकदमै धारिला

र रेट्नेछन् ती क्रूर गर्दनहरू
जो बिनासित्ति अग्लिरहेका छन्
हाम्रै श्रमका हिमालहरू टेकेर
र अट्टाहास लगाइरहेका छन्

हाम्रै कविताहरूलाई हेरेर उहिल्यैदेखि
म मेरा नानीहरूलाई
खेलाउन दिइरहेको छु-कविताहरू।
म ढुक्क छु
जब साँच्चै अघाउनेछन् उनीहरू
यी गुडियाका खेलहरूबाट
उनीहरू आफैं

यी गुडियाहरूलाई पखेटा दिनेछन्
र उड्नेछन् कावा खाँदै
यिनीहरू सँगसँगै नीला आकाशहरूमा
र, उभ्याउनेछन् यिनीहरूलाई
तिनीहरूको विरुद्ध
जसले काटेर यसका पखेटाहरू

फ्याँके कुनै अँध्यारो कुनामा
फेरि कहिल्यै उड्न नपाउने गरी पहिल्यै
म मेरा नानीहरूलाई
खेलाउन दिइरहेको छु-कविताहरू।