भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उही क्षितिज : उही आकाश / शशि भण्डारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

माथि–माथि उड्नुबाहेक
हामीसँग अरू गुँड छैन
अविरल सपना देख्नुबाहेक
हामीसँग अरू विकल्प छैन
रातको नीरव प्रतीक्षामा बस्नुबाहेक
समय साट्ने अर्को कुनै बोली छैन ।

कुँजिएका पखेटाबाहेक
आकाश छुने अर्को वेग छैन
नफुल्दै गरेका पालुवाबाहेक
निर्जन तुल्याउने अर्को वायु छैन
हातभरि सकिएको शब्दबाहेक
शङ्का र उपशङ्का पखाल्ने अरू माध्यम छैन ।

शताब्दीदेखि मानिआएको मान्यताबाहेक
अरू केही आँखामा जाडोसरि जमिरहेको छैन
शान्तिको क्षितिजमा कठ्याङ्ग्रिनुबाहेक
शरद र हेमन्त अरू थेगिरहेको छैन ।

बाँकी रहेको समयलाई पहिल्याउनुबाहेक
नयाँ घडीलाई हामीले अरू निम्त्याइरहेका छैनौँ
खस्किरहेको बोझिल घामलाई पुकार्नुबाहेक
देखिने खस्काइलाई अरू हामीले बोलाइरहेका छैनौँ
क्षितिजसँगैको आकाशलाई सिँगार्नुबाहेक
उही क्षितिज र उही आकाशसँग
हामी अझ बढी अरू केही भनिरहेका छैनौँ।