Last modified on 3 मार्च 2017, at 10:23

एउटा खबर पुर्‍याइदेऊ न / अरुणा वैद्य

ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर
म हेरिरहेको थिएँ, मौन आँखाले
कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित
फर्केर हेरेँ
रातो डाँडा बोलिरहेको थियो -
तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई
आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई
एउटा खबर पुर्‍याइदेऊ न-
म भीरभरिको अस्तित्व,
एक्लो सौर्न्दर्य थामेर यो उजाड रुँगेको छु

मात्र,
फुल्नुको धर्म साँचेर
फुल्नुको कर्म थेगेर
सक्छन् भने उनीहरूले मेरो साथ दिनु भन ।
साँँच्ची धर्म बिर्सर्ेे रहेछन् भने उनीहरूलेर्
कर्म भुलेकै रहेछन् भने उनीहरूले
संस्कारको कखरा पनि सिकाइदिनू ।

कटु आरोपसितै पाइला छोड्दै जानेहरूलाई
मुग्लानबाट पनि धारे हात लाउनेहरूलाई
एउटा खबर पुर्‍याइदेऊ न-
मेरो चिरिक्क छातीको सियो-धागो नबने पनि
च्यातिएका सती-सपनाहरू चिर्न नसके पनि
टुहुरा मुस्कानहरूमा लाली भर्न नसके पनि
उनीहरूलाई कर्कश सुसेली नसुसेल्नू भन ।
साँच्ची बाटो बिराएकै रहेछन् भने उनीहरूले
आफ्नै माटोको पनि गजुर हुन्छ सम्झाइदिनू
परिचय बिर्सर्ेेनि उनीहरूले आफ्नै,
यो पहरेदारले चिनेकै हुन्छ
संस्कारले मीठो जवाफमा ढोका
खोलेकै हुन्छ,
एउटा खबर पुर्‍याइदेऊ न ।