Last modified on 16 जुलाई 2017, at 16:20

एउटा जीवन स्वतन्त्र चाहान्छु / सविता गौतम दाहाल


जीवनसँग वेरिएर जीवन
वुढो रुखजस्तै भएको छ
न यी लहरा काटेर फ्याक्न सक्छु
न यी लहरा चूँडालेर हुरयाउन ।

के गरुँ
एकान्तको पीपल हुन सकिन
एकान्तको वर हुन सकिन
तपस्या वा समाधिमा लीन हुन सकिन
धना जंगलभित्रको वूढो रुखजस्तै भएको छ जीवन ।

जीवनसँग वेरिएर जीवन
वूढो घरजस्तै भएको छ
न यो घर फोड्न सक्छु
न छेउछाउबाट केही हटाउन ।

के गरुँ
झ्यालबाट सल्लेरी वन
वा गांैथलिको यात्रा
वा हरियो खेत देखिने
केही पलको हाँसो हाँस्न सकिन
पुरानो शहरभित्रको वूढो घरजस्तै भएको छ जीवन ।

जरा गाढिएको रुख
पूरातन शैलीको नमूना घर
आ– आफ्नै स्वाभिमानी इतिहास
गाउन लीन छन् ।

के गरुँ
न वूढो रुख चाहान्छु
न वूढो घर
केवल, एउटा जीवन स्वतन्त्र चाहान्छु ।