भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा मानचित्रमा सर्प र भ्यागुताको मिथकसँग / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सर्पहरु
लामो शीतकालिन निंद्राबाट ब्युँझिएका छन्
आफ्ना प्रणयजोडीहरु नाता लगाउँदैछन्
गतसाल ठूलो साँस्कृतिक क्रान्ति भएछ
धरपकडमा धेरै सर्पहरु शहिद भएछन्
क्रान्तिमा धेरै सर्पहरु निर्वासित भएछन्
जताततै सलबलाएका भ्यागुताका झुण्डहरुले
सर्पहरुमाथि भएको बज्रपातलाई पीडाका गीतहरुले
वर्षायाम लगत्तै
खेतबारीमा गाइदिएछन्
खोल्सा खोल्सी पानी पँधेरोमा सुसाइदिएछन्

सर्पहरु सकिएका छैनन्
भ्यागुताहरुले सर्पहरुको गीत गाएसम्म
सर्पहरुले प्रणयजोडी भेटेसम्म
सर्पहरु सकिने छैनन्
यो उत्सवको समय हो
सर्पहरु चाड मनाउँदैछन्
सर्पहरु थाकेका छैनन् । सर्पहरु हार मानेका छैनन्
सायद सर्पहरुको सुन्दर सम्भोग कला देखेर
एउटा अर्को मानचित्रमा
मान्छेहरु वात्सायनको किताब घोक्छन्
ईष्र्याले कालो हुँदै सेतो रुमाल फालेर नागमणी खोज्छन्
सर्पका खुट्टाहरु खोज्छन्

साना मानचित्रका साना मान्छेहरु
साँघुरो गोरेटाका साँघुरो पाइतालाहरु
साना आँखाका साना क्षितिजहरु
एउटा सानो मानचित्रमा
अलिकति रहर हुनसक्छ
अलिकति अहम् हुनसक्छ
अलिकति देखासिखी हुन सक्छ
वास्तवमा
सुक्दै गरेको आहालको भ्यागुता र तिनीहरुमा केही तात्विक फरक छैन
बहिरा सर्पहरुले भ्यागुताका गीतहरु कहिल्यै पनि गाउन सक्दैनन्

घाम उदाउँदा
घामतिर फर्किएर प्राथना गर्नु
घाम अस्ताउँदा
घामतिर फर्किएर समवेदना पोख्नु
सानो मानचित्रमा उभिएर आफ्नो उचाइ नाप्नु
मन नपरेकालाई घृणा गर्नु
अरुलाई खिसी गर्नु
दरिद्रहरुले साथ दिएभने
हडताल गर्नु
राजनीति गर्नु
थपडी बजाउनु
विकास गर्नु परिवर्तन गर्नु
सर्पहरुको आयातित संस्कृति हो
भ्यागुताहरुले खोल्सा खोल्सीमा गाइदिएको झुठो इतिहास हो ।

तर
वास्तविक मानचित्रमा
कोरिएका सीमारेखाहरु
त्यहाँ उम्रिएका क्याक्टसका सपनाहरु
हिमपातमा कठ्याङ्ग्रिनु होइन
मुसलधारे बर्सातमा नुहाउनु होइन
सर्पहरुले नसल्बलाएसम्म
भ्यागुताहरुले गीत नगाएसम्म
आपूmभरि अपमान खपेर छातीमा गुराँस फुलिरहोस्
आपूmभरि चीसो बटुलेर शीरमा हिमाल टल्किरहोस्
यी निकम्मा हातहरुले जेसुकै लेखुन्
यी कमजोर खुट्टाहरु जतासुकै हिँडुन्
चट्टानमाथि छापिएको त्यो सुनौलो अक्षर र
त्यो आदिम पाइताला उकालो चढिरहोस् ।