Last modified on 31 मई 2017, at 14:41

एउटा विनाशकारी युद्धमा / प्रमोद स्नेही

तँलाई लाग्ला– म यति कमजोर छु
तेरो अराजक प्रवृत्तिबाट म डराउँछु
तर्सिएर म भाग्नेछु...।

तँलाई त्यो भ्रम नपरोस,
तेरो आतङकबाट म अलिकति पनि डराएको छैन
थोरै पनि बिचलित भएको छैन
तेरो हरेक क्रियाकलापहरू मेरो पाठशाला बनिरहेको छ
त्यो पाठशालाबाट मैले, धेरै सिकाईहरू सिकिरहेको छु
र अँझ धेरै सिक्न चाहन्छु
देखा अँझ बाँकी छ भने तेरो शक्तिहरू
म सामना गर्न तयार छु...।

डराएर भाग्छ भन्छस्होला तँ,
अहँ : मरे पनि भाग्दिन म
कोठा छाडेर खुल्ला मैदान पनि खोज्दिन,
साना कटेजहरू खोज्दै
एक मुठी निद्राको लागि कसैसँग शरण माग्दिन
आजको यो रात पनि
तेरो आतङक विरुद्धमा जुध्नलाई
मानसिक रुपमा तयारी भएर बसेको छु
सक्छस भने देखा तेरो तागत
सामना गर्न तयार छु म ...।