Last modified on 9 जनवरी 2017, at 20:15

एउटी नगरवधुको डायरी / विवश पोखरेल

प्रत्येक साँझसँगै सुरू हुन्छ
मेरो जीवनको दिनचर्या
जब सहर बल्छ/म निभ्छु
जब झलमल्ल रात फुल्छ
म ओइलिन्छु
मोलमोलाइको बजारमा
जोसँग जे छ, त्यही बेच्ने त हो
किन्नेहरू किन्छन् त म के गरूँ ?

यो नगरमा–
सधैं बेइमानहरूको स्वागतार्थ
अधिकांश इमान्दारहरू
माला लिएर ठिङ्ग उभिएको देख्छु
प्रशंसाका लोरीसँगै–
स्तुति र भजन गाएको देख्छु ।
यहाँ इमान बेच्नेहरूको
कुनै चर्चा हुँदैन ।

पापी भुँडीका लागि मैले अलिकति
लाजसम्म बेचेको न हुँ
जसरी मान्छेहरू ठेक्कामा
माटो बेच्छन् /कुर्सी बेच्छन्
त्यसरी नै–
क्षणिक भोगाधिकारका लागि
मैले अलिकति शरीर बेचेको न हुँ ।

ससाना कुरामा ठूलाठूला आन्दोलन र
बन्द हडताल हुने यो देशमा
किन मेरो शरीरको मात्र चर्चा हुन्छ
मेरो विवशताको किन चर्चा हुँदैन ?
मेरो भोकको किन चर्चा हुँदैन ?
मेरो अभाव र गरिबीको किन चर्चा हुँदैन ?

यो देशको अभागी नागरिक म
मनभरि अनगिन्ती पीरको भारी बोकेर
निदाऊँ भन्छु सक्दिनँ ।
सधैं समानता आरक्षण र अधिकारका कुरा
उठिरहेका बेला
आफ्ना सम्पूर्ण पीडा बिर्सेर
जीवनको चौतारीमा केही क्षण
सुस्ताऊँ भन्छु सक्दिनँ ।

यसो सोच्छु –सोचको धरातल
अझ फैलिन्छ / अग्लिन्छ
किन महाशय यो शहरमा
नगरवधुको मात्र चर्चा हुन्छ
अनुहारमा भलाद्मीको खास्टो ओढेर
हामीसँगै समागममा लिप्त
नगरवरहरूको किन चर्चा हुँदैन ।