Last modified on 18 जुलाई 2017, at 14:55

एकान्तको अजिङ्गर / बैरागी काइँला



चारपट्टिबाट प्रतिबन्ध र निषेधका
सिमेण्ट गरिएका चारवटा जर्मन सिपाहीजस्ता भित्ताले अनि
मास्तिरबाट
कालो बिरालोले छात्तीमाथि टेकिराखे जस्तो
कति बेला खस्ला र थिच्लाजस्तो
घोप्टिरहेको छतको भयावह आकृतिले

बन्द गरेर राखेकोयौटा कोठा छ !
अस्पतालको सुनसान–सुनसान यो कोठाभित्र
कालो–कालो धमिलो–धमिलो
कानको जाली फुटाउने असह्य नीरवता छ !

धेरै सपनाहरू
धेरै इच्छा र आकांक्षाहरू
अनि यौटा जिन्दगी....
ओइलाएको फूलदानको फूलसित
चारै आयामबाट बन्द छन्, अस्पतालको यो कोठाभित्र !

हरेक झ्यालमा
घाम बोकेर आउने बतास छेक्न
आकाश थापेर आउने किरण छेक्न
बाक्लो–बाक्लो पर्दा झारिएको छ !

यो मुर्दाको अनुहारजस्तो एकान्त
यो एकलास–एकलास कोठाभित्र
सुन्सान–सुन्सान नीरवताको पनि आवाज गुँज्छ !

बाक्लो जङ्गलभित्र
भोकले तन्नम अजिङ्गरको छटपटीमा निस्कने
साँय.....साँय...को लामो निश्वासजस्तो
सुन्सान.......सुन्सान.......नीरवताको पनि आवाज हुन्छ !

मृत्युको निस्तब्ध र गतिहीन हुरी....
यो असह्य आवाज !
यो सुन्सान–सुन्सान नीरवताको आवाज...
अजिङ्गरको बाइरहेको मुखदेखि
शून्यताको अँध्यारो पेटतिर

कस्तरी तानिरहन्छ...
हरेक मासिलाई चालै नपाइने गरी जोडसित जोडसित........

एकान्तमा
अस्पतालको कोठाभित्र
प्रत्येक (नदेखिइने) वस्तुले घोच्छ......

सुन्सान नीरवताले
कञ्चट–कञ्चटमा, मस्तिष्कको प्रत्येक भागमा
पिलिइने गरेर घोच्छ, पिलिइने गरेर घोच्छ !

उफ्! बिजुलीको प्रकाशले समेत
ठीक निधारको बीचमा घोच्छ !

मेरो छटपटी
मेरो व्याकुलता
मेरो शिथिलता

जन्मेदेखि जिन्दगीको
अस्वस्थताको लामो इतिहास !
धरतीले पनि छात्तीभरि बिमार बोक्नुपर्छ!

यहाँ त जिन्दगीले पनि
जिउने घोर संघर्ष गर्नुपर्छ!

म पनि त
कत्ति जोडले युद्धमा ब्यस्त छु–
आफूलाई बचाउन
निकालेर अस्पतालको निर्जीव कोठादेखि
कुण्ठा र बाध्यताको घेराबाहिर !

तर मैले जान्दा–जान्दै
मैले देख्दा–देख्दै
यो सुन्सान.....एकान्तको अजिङ्गरले
मलाई पनि ढि ....लो गरेर
कति वि .......स्तार......वि......स्ता....र.......निलिबस्छ !

मृत्युको घाँटीमा
पातहरू नभएका कङ्गालका नाङ्गो भूइँमाथि
कति क्रुरतासित
कति नग्नतासित
कालो बिरालोले मुसालाई.......
खेल्नका निम्ति पनि विस्तार–विस्तार मारिबस्छ !
मार्नैका निम्ति पनि विस्तार–विस्तार खेलाइबस्छ !

यस्तो अभर परेको बखत पनि
मलाई मद्दत दिन असमर्थ,
यी टेबलका कितापहरु
ती, दराजका दबाइका बोतलहरु......

दया नगरी नसक्ने मानिसको
सहानुभूतिको निर्वलता चाल पाएर
नहेर्नुसमेत असमर्थ भई
टुल्टुल्ती हेरीमात्र बस्छन्...

सुख्खा दृष्टि लिएर !
सुख्खा स्पर्शदिएर !
सुख्खा हृ्रदय दिएर !

धीत मरुञ्जेल बाँच्नु पनि नपाएको
धक फुकाली मर्नु पनि नसकेको
जीवनलाई भारजस्तो...यो जिन्दगी !
उफ्! म यो जिन्दगीको एक एक क्षण
दलिनको एक एक तखतीमा टाँसेर
एक......दुई......तीन......भन्दै गनिसक्छु !

हठात् मलाई यस्तो पनि लाग्छ
कि मृत्युको भयानक कल्पना गरेर
मानिसहरु त्यसै डराँउछन् आफूमा
तर मृत्यु त ....
रातो कम्बलभित्रको
नरम–नरम कपासको न्यानो सिरकजस्तो हुन्छ !
रातो कम्बलमाथि
फाल्सा–फाल्सा रगतसीत छादिएर
मेरो अर्धमृत सपनाहरू
कम्बलमाथि, घर खुस्किएका ऊनका डोरीसित
कतैतिर, अल्झीअल्झी घस्रन्छन्.....
अल्झीअल्झी घस्रन्छन्.........

म पनि कतै अल्झिबसूँ..... भन्छु
तर एक ठाउँ अल्झिबस्न नसक्ने
जीवनको विवशता !

अनि
मृन्युलाई सिरक ओढेर
म त लम्पट लम्पसार परिदिन्छु
यौटा फलामको खाटमाथि !

जीवनले भने अझै कतैतिर
घस्री ....घस्री बढिदिन्छ........

तर यहाँको प्रत्येक आवाज बन्द छ :
कुनै ठूलो अनिच्छित दुर्घटनाको सम्भावित
भयले आक्रान्त !

गिलास बोल्दैन !
दबाइको बोतल बोल्दैन !
अखबार पनि चुपचाप छ !

मध्ययुगीन इतिहासको
विजयोन्मत्त सम्राटको बूटले किच्चिएको
यौटा जर्जर पन्नामाथि
सैकडौँ मानिसका आवाजलाई
बन्दुकको मोहरीले चुप गराएपछिको
असन्तोष,
शून्यता,
शून्यताको असन्तुष्टता,
घाँटी अँठ्याइएको विद्रोहको यद्धरत नीरवता.......

योकोठाभित्र –
वार.....पार गर्दछ
वार....पार गर्दछ

अस्पतालभित्र ....
सुन्सान–सुन्सान नीरवताको नसुनिने आवाज
यो एकलासको कोठाभरि
कानको जाली पार गरेर

वार....पार रुमल्लिई बस्छ.....
वार.....पार रुमल्लिई बस्छ.....

मैले जान्दाजान्दै
मैले देख्दादेख्दै
यो सुन्सान एकान्तको अजिङ्गरले

मलाई कति ढी.....लो गरेर
कति वि ...स्ता...र... विस्ता....र निलिबस्छ