भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक्लो छु यात्रामा / मोहन ठकुरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मिलन र बिछोडको दोभान छ यो प्लेटफर्म
अँगालोहरू छन्, गुडबाईका हातहरू छन्
हार्दिक हर्षमा हराएकाहरू छन्
बिछोडको वेदनामा विचलितहरू छन्
निर्निमेष दृष्टि बोकेर/जीवन
सदृश छ यो प्लेटफर्म ।

नभुल्ने कसमका आँखाहरू
सजल छन्/प्लेटफर्मको
त्यो अर्को किनारामा ।
अपरिचित अनुहारहरू छन्।
म छु बसेको/कम्पार्टमेन्टको यो कुनामा
समातेर मुस्कानका केही हातहरू ।
कहिल्यै कसैको नभएको/यो
ठाउँलाई
ओगट्ने हतार र हल्लाहरू छन्
अनि एउटा दीर्घ निःश्वास
अस्थायी प्राप्तिको।

गति छ/वेग छ
दृश्यहरूमा ।
घामका हातहरूमा
पसिनाले भिजेको छ

तनमनलाई चिस्याएर लैजाने/बतासको
चीत्कार सुनेको छ ।
आँखाहरूमा हरिया खेतका
लस्करहरू छन्
टाढामा देखिने रूखहरू र
घरहरू छन्।
 
गाई–बाख्राका बथान छन्
साना दहहरू छन्
सिकार कुरेर बसेका/ध्यानमग्न
बकुल्लाहरू छन्।
टाढामा ओझेल हुँदै गएका
जिराफजस्तै नरिवलका
बोटहरू छन्।
डुब्दो घामको प्रतिविम्ब
साना पोखरीहरूमा ।

खोलो बग्दै छ ।
बालुवाको बगरमा
केही पदछापहरू
केही क्षणमा मेटिनलाई।

घरदेखि टाढा
यात्राको यो साँझमा
एकतमासले बिग्रेको छ यो मन ।

एक्लो छु यात्रामा ।
</powm>