Last modified on 15 फ़रवरी 2018, at 14:20

एक, दुई, तीन, चार, र पाँच / विमल निभा


एक, स्पर्श गर्छ
दुई, फुसफुसाउँछ
तीन, बात मार्छ
चार, मुस्कुराउँछ
र पाँच ? पाँच बरबराउँछ

एक, विचार गर्छ
दुई, काम गर्छ
तीन, मद्दत गर्छ
चार, आविष्कार गर्छ
र पाँच ? पाँच षडयन्त्र गर्छ

एक, कविता लेख्छ
दुई, चित्र कोर्छ
तीन, मूर्ति कुँद्छ
चार, बाजा बजाउँछ
र पाँच ? पाँच क्रुद्ध हुन्छ

एक, प्रेम गर्छ
दुई, विश्वास गर्छ
तीन, हर्षित हुन्छ
चार, रोमाञ्चित हुन्छ
र पाँच ? पाँच विक्षिप्त हुन्छ

एक, चिन्दछ
दुई, बुझ्दछ
तीन, हेर्दछ
चार, महसूस गर्दछ
र पाँच ? पाँच केही पनि गर्दैन

एक, दुई, तीन, चार, पाँच
यो पाँचमा पुगेर
हो, पाँचमा पुगेर
किन सबै हिसाब
गोलमाल हुन्छ ?