भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक कण मात्र बाँचिँदोरहेछ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जता गए पनि
जता भागे पनि
पछयाउन छोड्दैन जिन्दगी ।

हिजो, अस्ति र
आजमा बाँडिएर म
आफ्ना अवयवहरूसँग
अस्तित्व केलाउन खोज्छु
टाढा बसेर जिन्दगीदेखि ।

जिन्दगी
हिजो, अस्ति र आजको मलाई
अवयव भन्दछ आफ्नो ।

सँगसँगै हिंडन खोज्छ मसँग
म जिन्दगीलाई टाढा राखेर
टाढाबाट हेर्न चाहन्छु।

देख्छु
मेरो जिन्दगीले एउटा म बाँचेको छ
एउटा म भाँचेकोछ
एउटा मलाई डोर्‍याएको छ
एउटा मलाई कुटेको छ
एउटा मलाई लुटेको छ ।

जिन्दगीले एउटा मलाई
मेरै रगतको टीका लगाइदिएकोछ
मेरो निधारमा
पौरुषताको ।

अलिकति
सिन्दूर लगाइदिएकोछ
मेरा हातहरूबाट
अर्कै निधारमाथि।

दस्तखत गराएकोछ
अनिच्छापूर्वक कहिलेकाहीँ
विकृतिका पहेँला कागजहरूमा ।

बेरिएको छ, लटपटिएको छ
लठ्ठारिएको छ, जिन्दगी
मसँग एकाकार भएर;
मेरो अस्तित्वलाई प्रश्न चिन्ह लगाएर
भोकको भोक
इज्जतको मात
सम्वृद्धिको नशा
मान्छे हुने लत र
मुस्काउने व्यसनको शिकार भएर ।

दुखेको छ जिन्दगी घरिघरि
कहिले एपेन्डिसाईटिस जस्तै
कहिले एन्जाईनोपेक्टोरिस जस्तै
कहिले कार्वोरेटर जस्तै
कहिले ईग्निसन जस्तै ।

धमिलिएकोछ
मैले पिउने पानीजस्तै
धूलो मिसिएर
हावाजस्तै धूँवा भएर
कार्बन मोनोअकसाईड भएर
क्लोरोफ्लोरो कार्बन भएर ।

लट्टु भएको छ जिन्दगी
धुइयाँ भएको छ।

घुमिरहेछ मेरो वरिपरि
केन्द्रबिन्दु बनाएर मलाई;
माघ जस्तै चिसिएर
जेठ जस्तै तातिएर
जीवन जस्तै वाफिएर ।

आँखा
वा
सुस्केरामा
गिदी वा हत्केलामा मिसिएर
जि
न्द
गी
भएर ।

हिजो र भोलिको माझमा
मैले एउटा कालखण्ड बाँचेकोछु
बाँच्ने क्रममा
अनवरत आत्महत्या गरिरहेछु ।

एउटा कविता लेखेर
थुप्रै कविता छाडेको छु,
उत्तरतिर हिँडेर पूर्वको उपेक्षा गरेको छु
एउटा उपन्यास पढेर
कैयन कथा छोडेको छु,
डिभिडेण्ड जानेर
बजेटिङ बिर्सिएको छु,
न्यूटन्स रिङ हेरेर
टाइट्रेशन पोखेको छु ।
देखी जान्ने भएर
सुनी जान्ने नभएको छु
विशिष्टिकरण गर्ने भ्रममा
सीमितिकरण गरेको छु आफूलाई ।

आईन्सटाइनलाई चिनेर देवकोटासँग अनभिज्ञ भएको छु
मुटु र आँखा देख्ने भएर
पेट र घाउ बिर्सिएको छु
साम्यवाद र पूँजिवादबीच
चामल, कनिका र भूस भएको छु ।

मारेको छु जिन्दगीलाई पटकपटक
त्यसैले शत्रुता छ मसँग जिन्दगीको ।

खेदिरहन्छ मलाई
लखेटिरहन्छ
अनवरत, एकनासले
सँगसँगै बेरिएर ।

परिचय दिन खोज्छ आफ्नो विशालताको
सिकाउन खोज्छ एउटा पाठ
जिन्दगी मान्छेभन्दा विशिष्ठ छ भनेर।
भन्न खोज्छ
मान्छेले बाँच्न सक्दैन जिन्दगीलाई सम्पूर्णतामा भनेर।
 
किकर्तव्यविमुढ म
टोलाउँदै पिइरहेछु चुरोटझैं एकनासले
स्वादविहीन जिन्दगीलाई ।