भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ऐनामा हेर्दा / कालीप्रसाद रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ऐनामा हेर्दा आफूलाई
झलक्क कतै देखेजस्तो लाग्छ
चिनेजस्तो, बात मारेजस्तो लाग्छ

थाहा छैन एकलास होकि कोलाहलमा
खुसियाली हो कि सुँक्क–सुँक्कमा
सपना हो कि बिपनामा
आँगनमा हो कि कतै परदेशमा
कि कसैको अनुहारमा
भेटेजस्तो लाग्छ, देखेजस्तो लाग्छ

ऐना हेर्दा अनुहारमा
आफ्नै मनको छाया परेजस्तो लाग्छ
आफैले आफैलाई छोएजस्तो
केही भेद खुले–खुलेजस्तो
आफैले आफैलाई प्रश्न गरेजस्तो, केरेजस्तो लाग्छ

आफ्नै आँखाले आफैलाई लखेटेजस्तो लाग्छ
सङ्कोच र केही भयले
आँखा झुके–झुकेजस्तो लाग्छ
आफ्नै अन्तरकुन्तरमा
आफै लुके–लुकेजस्तो लाग्छ

विवश, विवश
थकित, थकित
दयनीय, दीन
हीन, उत्साहहीन
लखतरान परेका सिकारी र सिकार
लखेट्न असमर्थ, भाग्न असमर्थ
 दुवै एकै थलोमा पल्टिएजस्तो लाग्छ
मानौँ एउटा तीर र एउटा मुटु
सँगसँगै सुताएजस्तो लाग्छ

आफूलाई आफ्नै अनुहारले मोसो दलेर
आफ्नो ठेलागाडीमा आफैलाई गुडाएर
आफ्नै मुटुले टिन ठटाएर आफ्नै छातीमा
आफ्नै मुखले थुकेर, आफ्नै आवाजले कराएर
आफ्नै हूलले आफूलाई आफूभरि घुमाएजस्तो लाग्छ
ऐनामा हेर्दा कैले त
आफ्नै मुख च्यातिदिऊँ जस्तो लाग्छ

आँखा फुटाइदिऊँ, खप्पर फोरिदिऊँ जस्तो लाग्छ
आफैले आफूलाई ढुङ्गा हानेर
झर्यामझुरुम फुटाइदिऊँ जस्तो लाग्छ
ऐनामा हेर्दा कहिले चाहिँ
सुमसुम्याएर आफैँ आफ्नो आँसु पुछिदिऊँ जस्तो लाग्छ
आफ्नो काखमा राखेर आफैलाई
म्वाइँ खाइदिऊँ, माया गरिदिऊँ जस्तो लाग्छ

बेस्मारी अँगालो मारेर आफैलाई
डाँको छोडेर रोइदिऊँ जस्तो लाग्छ
आफैले आफैलाई धोइदिऊँ जस्तो लाग्छ
तर अँगालोमा त सायद ऐना मात्र हुन्छ
र बेस्मारी थिचिदिँदा ऐना फुटिदिन्छ
बिझिदिन्छ ऐना, रगत आइदिन्छ
ऐनाका टुक्राहरू देख्दा आफै फुटेजस्तो लाग्छ
आफैलाई कतै काटेजस्तो लाग्छ
रगत होइन, आफै बगेजस्तो लाग्छ
आफैलाई आफू कतै चस्किए, दुखेजस्तो लाग्छ

प्रश्नलाई ऐनाले प्रश्नकै रूपमा उत्तर दिन्छ
हरेक मुद्रालाई उही मुद्रामा जवाफ दिन्छ
ऐनामा हेर्दा आफै जमेर ऐना भएजस्तो लाग्छ
आफै आफ्नो फ्रेमभित्र परेजस्तो लाग्छ
आफूले होइन, ऐनाले आफूलाई हेरेजस्तो लाग्छ
कीला ठोकेर आफूमाथि आफैलाई टाँगेजस्तो लाग्छ
आफ्ना आँखाले आफैलाई नङ्ग्याएर
आफ्नो अपराधी हातलाई आफ्नै हातले समाएजस्तो
आफ्नो टाउकामा तुर्लुङ्ग आफैलाई झुन्ड्याएर
आफ्नो एनाटोमी गरेजस्तो लाग्छ
आफूलाई मारेर आफैभित्र दबाएजस्तो लाग्छ
आफूलाई पाएर आफ्नो सबै गुमाएजस्तो लाग्छ