Last modified on 9 जून 2020, at 21:28

कतै देवता नहोऊँ / सुमन पोखरेल

मान्छेका मनका
नियास्रिएका चोइटाहरू
आउँछन् एकएक गरी

माला उनिन्छन् वरिपरि
त्यो छेउमा मेरो ।

म देख्दैछु एउटा देवता
जहाँ
बेचिएका रहरहरूका टाउकाहरू
निहुरिने गर्दछन् प्राप्तिको आशमा ।

त्यहाँ
बिरालाका छाउराहरू
आ-आफ्ना आँखाले हेर्दैछन्
आहारा खोज्न,
त्यहाँ झ्याँउकिरीहरू
कराउँछन् साँझभरि
र निदाउँछन् रातभरि
उज्यालालाई बोलाउन ।

नत्रभने
अनाहकमा टाउको किन दुख्नु पर्थ्यो ?

र मलाई
त्रास हुने गर्छ,
कतै म देवता नहोऊँ ।

देवता, जो सधैँ रित्तो हुन्छ
देवता, जो सधैँ ढुङ्गो हुन्छ
देवता, जो सधैँ निर्वाक हुन्छ
देवता, जो सधैँ आस्था
केवल आस्था मात्र हुन्छ ।

देवता, जो सधैँ नाङ्गो हुन्छ ।

मान्छेका
नियास्रिएका मनका टुक्राहरू
आउने गर्छन् मसम्म।