Last modified on 15 मार्च 2017, at 11:39

कसरी दिऊँ माया ? / सुमन पोखरेल


सीमित परिभाषा वाक्यहरूका
सीमित अर्थ शब्दहरूका ।

अनुभवहरू र अनुभूतिहरू
कल्पनाहरू, मुस्कानहरू र आँखाहरूमा बाँधिएर;
सम्पूर्ण सृष्टिभरिको माया
कैद गरेर मुटुमा
कसरी दिऊँ, म तिमीलाई ?

यहाँ पहिले आउनेहरूले
मायालाई साँचो पनि भनिदिए
जाली र झूटो पनि भनिदिए;
लाउनेहरूले मायालाई
चोखो पनि भनिदिए
बिटुलो र जूठो पनि भनिदिए;
नयाँ र पुरानो पनि भनिदिए
आफ्नो र बिरानो पनि भनिदिए ।

चिरेर मायालाई भिन्नताहरूबीच
माया र आत्माको
माया र मुटुको
माया र शरीरको
माया र जीवनको;
टुक्र्याएर सिङ्गो माया
चोइटाचोइटामा विभक्त गरी
कसरी दिऊँ
म तिमीलाई ?