Last modified on 28 फ़रवरी 2017, at 16:00

कसले होला ? / श्यामदास वैष्णव

फूलहरु छरपस्ट
भएको त देखियो : यत्रतत्र
यिनलाई एकसूत्रमा उन्दै
माला बनाउने कसले होला ?

फूलबारीलाई रछ्यानतुल्य
बनाउन खोज्ने अबुझहरु पनि त
देखिए
यिनलाई नादान ठह-याई
सही सन्देश दिने कसले होला ?

स्वत्व विकाई, घरखेत जोर्न खातिर
विदेश रिझाउन खोज्नेहरु पनि त
देखिए
यस्ता समक्ष स्वगौरवको महत्व
देखाउन सक्ने कसले होला ?
घैंटोमा घाम लगाउने कसले होला ?

विभिन्न जातजाति
विभिन्ड्याएको पनि त देखियो
यस्ताहरुबीच
एकताको महत्व झल्काउने
कसले होला ?

निश्चय नै समझदारीबिना
यी सब कार्य सम्पन्न हुने देखिन्न
एउटाले अर्काको गुण नस्वीकारी
यसबाट पार पाउने छैन
यस्तोमा समस्त समस्या सुल्झाई
दुर्गुण जति छन् दूर गराई
सद्भाव जगाउने कसले होला ?

सोची विचारी हेर्दा
जसले निजी अहं त्यागेर
सर्वम्को हित सोच्ने गर्छ
उसले नै उत्थान मार्गतिर
सबलाई बढाउन सक्ने होला ?
मन जसले सबको छोला
उसले नै सक्ने होला ।।