Last modified on 23 अगस्त 2020, at 21:21

काठमान्डु जाने बाटो / डोद्दारेङ्गे गोव्डा / सुमन पोखरेल


काठमान्डु जाने बाटामा
देखिन्छ अटूट दृष्य
पातालको नि:शुल्क टिकट बाँडिरहेका भीरहरू
पाइला पाइलामा बसेका छली घुम्तीहरू
हठी ठीहीसँग डराउँदै
आफ्नो गीत गाउन छोडेर चुपचाप बसिरहेका चराहरू।

केटाकेटीजस्तै खेल्दै उफ्रिँदै
हिमालदेखि बगिआएका खोलाहरू,
कछुवाजसरी घस्रिँदै गरेका बसहरू,
छालपछि छाल आएजस्तो
नजीक आउँछन् असङ्ख्य रूपहरू
र कानेखुसी गर्छन्
हृदयहरूका हृदयभित्र ।


काठमान्डु जाने बाटामा
प्रत्येक पाइलामा
परेड गरिरहेका आकाश छुने रुखहरू
यात्रीहरूसँग आसपास खेलिरहेका बादलका झुण्डहरू,
टल्किरहेका खेतका गह्राहरूलाई जिस्क्याइरहेका
चाँदीका टोपी लगाउने पहाडहरू ।

त्रसित पार्छन् तिनका विशालकायले डरलाग्दा आँखाले
सातो लिल्छन् अनभिज्ञ यात्रीका
ठट्टा जस्ता लाग्ने खेलौनाजस्ता काठका घरहरू,
एउटा नयाँ संसारको सिर्जना गर्छन् तिनले
र जरा गाड्छन्
हृदयहरूका हृदयभित्र।


काठमान्डु जाने बाटामा
चलमलाइरहेका आँखा र गोलभेँडाजस्ता गालाहरू
बोझले थिचिएर निराश भएका होचा युवतीहरू,
हिमालका खोँचको नि:स्तब्ततामा
ओहोरदोहोर गरिरहेका वीर गोर्खालीहरू,

स्मृतिका गुजुल्टालाई फुँकाउँदै जाँदा
सपनाका असङ्ख्य रङ हैन
एउटा वास्तविक सत्य भएर आउँछ
काठमान्डु जाने बाटो;

नेपालको सुनौलो भण्डार!