Last modified on 9 मई 2017, at 14:48

किताब / भीष्म उप्रेती

अचम्म होइन त ।
किताबमा छैनन् अक्षरहरू आज ।

कहाँ गएछन् अक्षरहरू
एकसाथ, अचानक ?

बिहानबिहानै
कालो बादल उठिरहेछ चारैतिरबाट
मैलो बोरा ओढेर सडक–पेटीमा
फोहोरछेउमा सुतिरहेछन् केटाकेटीहरू
अस्पतालको बाहिरपट्टि सडकमा
भयानक रोगले मरिरहेकी छे युवती
टालैटालोले बनाएको मैलो लुगामा
हिमालमा जाडो छल्ने प्रयासमा छन् भरियाहरू
र एक छाक भातमा
आफूलाई बेचिरहेछन् मानिसहरू ।

म एक–एक गर्दै सोचिरहेछु सबै दृश्य
चेतनालाई बेस्सरी कोर्रा हान्दै
अमिलिँदै, पाक्दै
हराइरहेछु अनुभूतिको सिङ्गो जङ्गलमा ।

कति पढ्नु एकोहोरो किताब मात्र
पत्रपत्र च्यातेर समयलाई
म आज दुःख र मान्छेकोजीवन पढ्छु ।

किताबमा छैनन् अक्षरहरू आज ।