Last modified on 4 सितम्बर 2020, at 19:41

किन हो भन ?/ माधवलाल कर्माचार्य

फुलेको फूल हाँस्तछ नाची पवनसाथमा
भमरा आई भुन्भन गर्छ उडेर छिनमा, बसेर छिनमा,
आकाशवाट एकदम झर्छ सिम्सिमे वर्षाजल

फूल त्यो हाँस्छ, फूल त्यो नाच्छ ढोगेर महीतल, ढोगेर महीतल,
किन हो भन मलाई लाग्छ कहाली त्यो वेला,
आँखा यो चिम्ली पल्टन खोज्छु, भैजाउँ बेपत्ता, उडेर बेपत्ता !
 
कहिले राती आकाशमाथि टिल्पिले तारागण
झिम्झिम गर्छ, झिम्झिम गर्छ हेरर मात्र झन्, हेरेर मात्र झन् ।
एकदमसँग उ परबाट हुच्चिल कराउँछ

कराई मुसा भाग्दछ कता परेवा उड्दछ, परेवा बस्दछ,,
किन हो भन मलाई लाग्छ कराउँ त्यो वेला,,
तकिया च्यापी रोएर बगाउँ आँसुको यो खोला, आँसुको यो खोला !
किन हो किन एकदमसँग वेसुर चढ्दछ

बगेको नदी बगेको बग्यै आँखाले पछ्याउँछ, नसकी फर्कन्छ !
अनि ता फेरि मान्छेको छाप्रो, बज्दछ मादल, बज्दछ मादल,
किन हो भन मलाई लाग्छ सुतू कि त्यो वेला,,
सुतेर सारा बिर्सिनै जाऊँ भएर बेपत्ता, बिलाई बेपत्ता !
................................................
(भारती, ३६, मंसीर २००८)