Last modified on 6 अगस्त 2017, at 10:56

किस्ने / श्रवण मुकारुङ


त्यो, घामको अनुहार नदेखेको किस्नेको अनुहार देख्यो कि
मलाई घिन लाग्छ
त्यो, पानीको छिटो नभेटेको किस्नेको कपाल देख्यो कि
मलाई रिङटा लाग्छ

बिहान, धारामा ङिच्च दाँत देखायो भने किस्नेले
दिनभरि आफ्नो काम बिग्रन्छ
बेलुकी, झ्यालतिर लुसुक्क आँखा लगायो भने किस्नेले
रातभरि आफ्नो सपना बिग्रन्छ

म, हाटबाट फर्कँदा भूतजस्तो पछि–पछि आउँदो रै’छ किस्ने
मेरो त हंसले पनि ठाउँ छोड्यो
म, जङ्गलबाट झर्दा दुम्सीजस्तो अघि–अघि झर्दो रै’छ किस्ने
मेरो त जीउभरि काँडा उम्रियो

सपना पनि हातमा सर्प लिएर लखेट्छ मोरो
ब्यूँझँदा पसिनैसरि हुन्छु
विपनामा त झन् आँखैमा अलच्छिना
म रातभरि भरि रुन्छु
देख्यो कि परै सुइसुइला पार्छ, भेट्याकि असत्ती आँखा मार्छ
अनुहारमा रगत सार्छ
आमा ! त्यो किस्नेले मलाई कुन दिन
कुन अभरमा पार्छ !