Last modified on 16 मई 2020, at 22:22

कुनै एउटा यस्तो दिन / प्रकाश सायमी

घामसँग बोलेर हामी कविता पढ्दैछौँ
घामसँग खेलेर हामी कविता लेख्दैछौँ
घामसँग हिँड्दै हामी कविता बाँच्दैछौँ
घामसँग
हाम्रो साइनो छ,
कविताको ।

घाम पर्खालमाथि चढ्छ,
हाम्रो कविता सस्वर हुन्छ
घाम डाँडामाथि हिँड्छ
हाम्रो आवाज अझै प्रखर हुन्छ
पानीसँग पनि हामी लेख्छौँ, पढ्छौँ
र बोल्छौँ
हामी कविता लेख्छौँ घामपानीको,
एकदिन हाम्रो कविता घाम बन्ला
सबैलाई न्यानो देला
वा पानी बन्ला,
सबैलाई जीवन देला
फेरि पनि हामी कविता लेखिरहौँला
तर कविता त हामीसितै रहन्छ

कुनै एउटा यस्तो दिन
घाम रहला
पानी रहला
हाम्रो कविता नरहला
तर
हामी घामपानीमा कविता भएर जानेछौँ ।