भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही कामहरू / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नचाहेरै गर्नुपर्ने रहेछ
धेरै कामहरु जीवनमा ।

जस्तो कि फक्रेको एउटा फूल चुँड्नु
र चढाउनु एउटा ढुङ्गामा
रोजाइको अन्तिम गन्तव्य सम्झनु
र बढाउनु पाइलाहरु तिमीतिर
जान्दाजान्दै ओर्लनुपर्छ- चढ्नु एउटा कष्टकर उकालो
बुझदाबुझदै र्फकनु पर्छ पछाडि- बढ्नु अगाडितिर निरुद्देश्य
दौडनु र दौडिरहनु- एउटा कहीँ नपुग्ने यात्रा
सधैँसधैँ भरिरहनु- सपनाहरुको महामेला
हरेक रात निदाउनु र ब्युँझनु हरेक बिहान एउटा उदासी
सिन्को भाँच्न नसक्नु र ठडयाइरहनु अभिमानको एउटा पर्खाल

नचाहेरै गर्नुपर्ने रहेछ
धेरै कामहरु जीवनमा ।
कहिल्यै विश्वास गर्न नसकिनेलाई हाल्नु विश्वासको एउटा मत
जानीजानी घाउ कमाउनु र सुम्सुम्याइरहनु एउटा खत
लड्नु माटैका लागि आत्मीयसँग र मिल्नु त्यही माटोमा
छोड्नु सहयात्रीलाई सहयात्रामा र हिँडिरहनु एक्लै त्यही बाटोमा
अँजुलीमा भर्नु ताराहरु र कोही नपाउनु दिने मान्छे
बिस्कुन हाल्नु सपनाको र चराउनु भँगेराका बथानहरु
भावनामा पौडनु, डुब्नु र रित्तिनु दिनदिनै
वेदनाको भिरालो ओरालो एक्लै एक्लै र्झर्नु दिनदिनै
भर्याङ बन्नु र टेकाउनु ढाड माथि जानेहरुलाई
आफ्नै भन्ठान्नु भित्रभित्रै आफैँलाई चपाउनेहरुलाई

नचाहेरै गर्नुपर्ने रहेछ
धेरै कामहरु जीवनमा ।