Last modified on 3 जुलाई 2021, at 07:46

क्षितिजको रङ्ग / सुमन पोखरेल

हरेक बिहानमाथि केहीबेर उभिएर,
प्रत्येक साँझछेउ एकछिन अडिएर
आफैँलाई बिर्सी पछ्याइरहेछन् मेरा नजरहरू,
उज्यालोसगैँ बढारिरहेछन् मेरा परेलाहरू,
क्षितिको अन्तिम किनारमा ठोक्किएर रङ्गिएको आकाशलाई ।

सोचिरहेछु;
यो रक्तता
एकअर्काबाट चुँडिएर विपरीत बाटो लागेका प्रेमी युगलको
च्यातिएको हृदयको रङ्ग हो, वा
वियोगको अँध्यारो यामपछि गाँसिएका मनहरूमा फक्रिएको
मिलनको रक्तिम उज्यालो?

दिन उघार्ने जस्केलो र दिन ढप्क्याउने फरिकाभरि पोखिएका
यिनै लालिमा हेर्दाहेर्दै
आधा जीवन रङ्गैरङ्गले भिजिसक्यो, तर
बुझ्न सकिनँ,
यी धर्ती र आकाश
साँझ छुट्टिएर बिहान भेटिने गर्छन्
वा
बिहान छुट्टिएर साँझ भेटिन्छन्!