Last modified on 9 मार्च 2015, at 14:50

गाउँछ गीत नेपाली / माधवप्रसाद घिमिरे

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल ।
गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।
सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिबले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।
पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एशियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा ।
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा पृतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वाजा लिई
नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली ।