भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गालिबको चिहान / प्रकाश सायमी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

घर वा सपिङ मल बन्ला
हाउजिङ वा आकाशे बजार बन्ला
केही पनि बन्नसक्छ यो भूमिमा ।

धेरै वर्षपछि
यहाँ गगन महल बन्ला
वा मल्टिकम्प्लेक्सको प्रसिद्ध भवन ।

व्यस्त भरिभराउ
वा हेर्नै नसकिने
अभेद्य मान्छेको भीड होला
तर हुनेछ एउटा गजल रेस्राँ
तर हुनेछ यहाँ एउटा पुस्तक पसल
त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा
कुनै गायिकाले
गालिवकै गजल गाएर
गाहकी बढाउली

वा हुनसक्छ
त्यो गगनचुम्बी भवनको
पुस्तकालयमा कुनै सेल्सम्यानले
गालिवकै बोली बोलेर
उनका दीवान ए गालिव
वा उनको गजलको सिडी बेचिरहेका हुनेछन्
हुनेछ कुनै सभाभवनमा
गालिवको शतवार्षिकी
त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन्
'गालिव गत शताब्दीका महान् चित्रकार ।।'

अनि बोल्दाबोल्दै उनका झरेका
आँसुलाई क्यामरामा कैद गर्न
टीभी च्यानलका लेन्सहरू
तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन्
तर कसैलाई थाह हुनेछैन
जहाँ त्यो गजल गाइँदैछ,
जहाँ त्यो दीवान ए गालिव बेचिँदैछ,
जहाँ त्यो स्मृतिसभा हुँदैछ,
त्यही भवनको जगमा
गालिवको चिहान छ भनेर ।