भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गीतान्त / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


किरण बगिसकेको छ रेखा चुँडिएर,
तन्किएर आकाश छोइसकेको छ हातहरू ।
अब त शायद रोइसकेको छ- झरेर, बुझेर, हेपिएर सागर,
यहाँ सागर त हो मेरो खोजीको चाह,
इच्छा लघारिएको बन्धनबाट मुक्त बनेर
यो क्षितिज मेरो आफ्नोपन भन्न सक्छु,
लिन सक्छु,
भाँचिन सक्छु,
मेरो अचानक ब्यूँझनुको अर्थ, गिदीदेखिन् धेरै छ ।
अनगिन्ती ढुङ्गाहरू तरासिएका झैँ भित्ता रोपिन,
यो भित्ता मेरो अन्धकार ओतिदै नुहाउँछ किरणले निथ्रुक्क
टुङ्गिदै हराउँछ आवासमा मेरो क्षण
मेरो क्षण मेरो विद्रोह,
मेरो क्षण मेरो बन्धन
मेरो क्षण मेरो युक्लिप्टस्
जिरेनियमले गन्हाइरहेको वातावरण
भिजेको साउनलाई बाहिर राखेको हो, नआओस् त्यो भित्र ।
अथवा फिँजियोस्, घर आओस्, आइरहोस्, आइरहोस्,
ओहो ! कस्तो गीत गाएको बाँझो गीतको बाँझो
मलाई भन, नभन, म त एकदम विचित्र हुँ,
भाटभटेनीको भूइँ नटोइएका खुट्टाहरू धागो बाँधेको, सराप परेको
यो आकाश भाटभटेनीका खुट्टाहरू सराप परेको,
यो पहाड भाटभटेनीका खुट्टाहरू सराप परेको,
यो गाउँ भाटभटेनीका खुट्टाहरू सराप परेको

ढुङ्गा कति फेरा शिखर पुर्याूउनु मैले देउताहरू सराप परेको
बेसी लडिरहन्छ, पाखा लडिरहन्छ, उकालो-ओरालो लडिरहन्छ,
सिसिपसको उपाख्यानमा अचेल महायुद्ध कहीँ छ कि छैन,
यो महायुद्ध भाटभटेनीको खुट्टाहरू सराप परेको ।
म पहेँलो महायुद्ध छु ।
प्रलयले तर्सिन्न महायुद्ध, दैलोभित्र प्रलय आउनैपर्छ
युद्ध भइरहनुपर्छ भरभित्र, तितेपातीको स्याउला युद्ध,
संघारमा उभिएको छु सिरिङ्ग पारी छेपिन पानीले
सञ्चो लागेको छ ।
चर्किन चौखटभरि त्यसको कोणिक नपाइमा खाँदिन,
एउटा चौखट चारकुने,
ए चौखट चारकुने,
एक चौखट् ! ए चारकुने ! ए चेभिएभ ! ए किरण ! ए बिहान !
आँग झरिसके पानी, ए भैरव र महाकाली !
केही रगत बगून, केही मृत्यु बगून, अब केही खुकुरीका धार बगून् ।
म त शायद बग्न सक्छु, म बगूँ, म मृत्यु र खुकुरी बगूँ ।

अचेल बन्द छ,
केही सुनिँदैन,
अचेल मुक्त छ
केही सुनिँदैन
अचेल बग्छ, बगिरहन्छ
केही थामिँदैन ।
यो विरोधविनाको स्वर रे, यो विरोधविनाको स्वर रे,
केही बज्दैन काठमा घाउ, शिलामा झर्दैन स्वर,
निश्वर, निश्वर फगत निश्वर !
अस्तित्व फैलाउँछ आपसमा बसेर कपालका गुजुल्टाहरू
चेरीको निर्मुक्त काला काँडाहरू, लेख्छु निश्वर, निश्वर !
मेरा ध्वंशितहरू बटुलेर छु म बिहान, रात, सपना, आकाश,
हालेलुया ! यो सोच्नु पनि भयो आश्चर्यपूर्ण,
मुक्ति कराउनु फीँजिएर रछ्यानमा च्याउ उम्री, घाँस ब्युँझी,
युक्लिटस सुक्खा छ, म पनि सुख्खी छु,
म तिम्रो बन्धनदेखि डराऊँ नै किन, मानवीय लघुता !
रक्सीमा भिजेकी जुडिथ-रण्डीको छातीको फराकिलोमा छु !
मैले भोकाहरूको रगत बोकेको छु ।
क्रुसमा उनिन्छ मलाई, बूढी आइमाईको चाउरी परेको
दन्त्यकथा जस्तै
कितापहरू छरिएर बसेको जस्तै
गुलाफबाट उप्केर आएकी केटी जस्तै
मेरा पन्नाहरू काठका तिमीले पत्याएनौ भने पनि, मूर्ति कपिन्छु,
सिलहट सुमसुम्याउनु परोइन र पनि ।
सिलहट होइन र पनि, केही हो यो,
शार्लमानको न्याय ढुङ्गा मृत्यु सुतेको थियो रोर्ला,
मैले पनि रोलाँको गीत गाएको छु, म त्यस गीतको कवि,
चुहिरहन्छन्, अचेलसम्म, प्रतिशोध
कागजमा लेखिएको बादलको कवि, म स्वप्न स्याहार्छु,
आँखा-आँखा लाछेर ।
गानेलोको विश्वासघात पनि छु मैले,
स्याहारेर दाँजेर छातीमा ल्याएर सुनाखरीहरू हो !
गानेलो गाएको छु मैले,
भ्वाइलिनको काठ बजेको छु मैले,
तार झङ्कृत भएको छु मैले ।
एपोलोको वरदान हो रे, मिदासको सुन,
मिदासको खोला, मिदासकी छोरी, मिदासको घर ।
उसले जस्तै सिँच्न चाहन्छु सुनदेखिन् मुक्ति
मेरी छोरी मासुमा नै राम्रिइ, मेरो घर आवासमा नै घर
मुट चोपेर हेर्न सक्छु उसलाई, पियार गर्न सक्छु,
त्यसलाई गधाको कान दिइयोस्, लाजले छोपेर सुनोस् मानिसको गीत
भोको ओडार ? के म भित्र पस्न सक्छु ?
के म भित्र पस्न सक्छु ?

अचेल शून्यता थुप्रिएछ !
मोह ब्यूँझन्छ त्यसैले त मेरो,
युद्ध नगरी कतै मोह हुन्छ, खापा फुकालेर घरभित्र एक्लिन्छ
के भन्नु छ र ऐना छोपेर, अनुहारमा
भाग्दै गर्छ किरणका दिनहरू शून्यहरू कति शालीन
रूप शुद्धता छ, शून्यहरूमा ट्रम्बोन बज्छ रूप,
क्लेरोनेट कराउँछ शून्य,

एक दिन मैले जिउन खोजेको थिएँ विनसित
ट्रम्बोन बज्छ स्वप्न निद्रा उनेर हरेक अन्धकार
स्वर धून, ट्रम्बोन बज्छ रूप
क्लेरोनेट कराउँछ शून्य, व्यथा चपाउँदै उग्राउँदै ।
स्वप्नरहित मलाई सुत्न देऊ मेरो आकाशको तल,
म अत्यन्त छु तिमीलाई कथा त्यो याद हुनुपर्ने
मेरो हुनुको पर्दा तन्किन्छ बाँधिएझैँ पहिलो दिनको
पहिलो उत्सवमा
पेन्डोमोनियम पनि यस्तै हुन्छ पहिलो उत्सवमा,
वरिपरि बस्छ रीतिहरू आगो तात्दै, उम्दै, उम्दै,
टाउको सुनेर एक छेउ उकालोमा, हात, खुट्टा, सबै सुतेर
अर्को छेउ उकालोमा आँखा सुतेर, बितेका दिनका कथाहरू
तिमी लगायत सबैलाई म चिन्दछु,
त्यस बेला तिम्रा आँखा चिथोरिएका थिए, घाउ थियो,
घाउ भएको मान्छे ओडारमा सुनेको हुन्छ,
आहाल बसेर हिलोमा भैँसी ।

रण्डीले गर्भाधान आचरणमा लेखेको ग्रन्थ जस्तो हुन्छ घाउ,
घाउ भनेको त्यही त हो तिमीले र मैले भोगेको आखिर,
म त घाउ मन पराउँछु थिचोल्ने प्रकारको, रगत बगिरहने घाउ,
रोम र केफुआसम्म उनिएको घाउ ।

टाँस्सेर भित्रसम्म म चाहन्छु घाउ भोगूँ
अडेसिएर, ओल्टेर-पल्टेर निश्वर ।
भचाखुसीमा रन्थनिन्थ्यो रे शरीर टाउको नभएको
दोबाटो-दोबाटोमा झुण्डिन्थ्यो रे डोरी त्यहाँ, कारणविना
हो, त्यस्तै घाउ ।
मेरो प्रलोभन तिमीले बुझ्यौ होला,
म च्यातिएको पर्दा हुँ भत्किरहेको आस्था भएर,
उकालीहरूसित उक्लिन्छु रुख, दोबाटोमा रेलिङ पस्रँदै,
ओरालीहरूसित ओर्लिन्छु धर्ती बुनिएर पाषाणहरूसित,
निद्रासित आँखामा छ महिना सुतेर ब्यूँझेर युद्ध गर्छु,
पर समुद्रमा बाँध बाँधिसकेको छ रे डाइनोसिसले,
म रामसित अनायास लडाइँ गर्छु,
म शत्रुसित व्यर्थै लडाइँ गर्छु ।
आसक्तिको भचाखुसी बलिवेदीमा गएको छ,
भित्ता-भित्ता तानिएर ढुङ्गा-ढुङ्गा तन्किएर,
छाल र ज्वारको बाटो बालुवाको बाटो,
कथाहरू त्यस्तै पर्छन् साँझका भ्रूण चन्द्रमा उठेर,
बिहानको बच्चाको तुआ तुआ हज जान्छु,
हिप्पीको आसक्तिहीन आलस्य, सागरमा मिसिन्छ
सागर हज जान्छु,
ओलिम्पस जान्छु,
धर्ती हज गर्न जान्छु,
त्यो धर्ती जिउँथ्यो काफिर भाँचेर काफिर हज जान्छु ।
चिनो ओछ्याएर भाग्यमा नपढेको हुँ ।
हत्केला उघाउँदै ओडारपट्टि
रेखा खुम्च्याउँदै गिदीमा म गिदी हज जान्छु ।
गीत भन्ने व्यवसाय फैलिएर जान्छ कि आद्योपान्त
आपादमस्तक भूइँचालो हेरुँ तिम्रो छातातिर,
कि मसित ब्यूँझन आउनेहरू हो ।
हज गर्न जानेहरू हो म तिमीमा हज जान्छु ।
यो कथाको बेला हो साँझको बेला गोधूलिको बेला
बेला धेरै बेला र बेला मौन
यसैलाई बाँधौँ कि सबै आयामभरि,
परिप्रेक्ष झर्छ आयामभरि, म नासिसस, बाँच्न चाहन्छु,
अन्तरङ्ग कण फैलिएको छ, आलोक चेतनाले उपचेतन भई
बहकेको समयमा म हेर्दछु, म छोप्दछु, म भाग्दछु,
यी सिँढीहरू बनाउनु छ, झर्नु छ, सिगरेटका धूवाँहरू झर्नु छ,
शायद स्वप्न अब छैन त्यसैले त्यागेको यो रातसित मेरो आग्रह
आग्रह मरिरहेको छु गोधूलिमा, शायद यो एउटा जिउने तरीका हो,
कविता त स्वयम् गढ्छ आफूलाई माटोभित्र
त्यो हेरिन्छ रचनामा अत्यन्त वाचाल भएर आउँछ
र, उठ्छ सालिग
सर्वोत्तम कहाँ छ, म तेरो आग्रहमा ?
रूपमा हजारौँ रचनारुले मुक्ति पाएका छन्
छिनो र मार्तोलले,
यसको प्लास्टिक रूप अत्यन्त शब्द हो रचनामा,
सर्वोत्तम कहाँ छ मूल्य चुहिन्छ कि आकाशदेखिन्,
मार्तोलले पिटिएर छिनोले कपृर सवेगले छोएर,
खाली पन्नाहरूका खाली ठाउँहरू
खाली स्वरहरू, शब्दहरू !
म प्यारो गर्छु, सम्भावनाका समुद्र हुन् कि,
अनगढ रचनाको सम्भावित भविष्य परसम्म दगुर्छ
म समय यसरी समात्न खोज्छु,
म कप्न खोजूँ यो बाँचोस्, खूब बाँचोस् ।
मलाई म्क्विटी चाहिँदैन ।
म रचनाको दास होइन यसले ओगटिदिन्नँ कहिल्यै पनि
कप्न खोज्छु यो बाँचोस् ढुङ्गा बाँचोस् ।
मेरो मोडलाको आमँचर जियोस् हजार वर्ष,
पोखिएर परसम्म ओच्छिएर परसम्म फैलिएर ।
भाँचिएर शब्द, स्वर र साधना
माटो मैले भने जस्तो हुन्छ शब्द जस्तो अर्थपूर्ण, व्यर्थै लाग्छ
अर्थहीन बाधा गर परपर जस्तो बाधा कपौँ बाधा कपौँ
विरोध छैन भित्तामा अघि सर्छु अनायास सत्चर बाधा कपौँ
मेरो आवरणमा बाँधिनेलाई मेरो अनास्था काँस ढालौँ ।
म अनुसार नकपिने मेरो कला मेरो गीतान्त
म मेरो विचार सुन्न चाहन्छु
म त्यो चाहन्छु सुन्न कि यसले के भन्छ मसित पसेर,
मलाई चिथोरेर,
नत्र म किन लेख्न नै चाहन्छु भन त, के बनाउन चाहन्छु ?
स्थानको वरिपरिको अवस्थिति र यसको अन्तर्ध्यान अभिव्यक्ति,
पङ्क्तिबद्ध विशेषज्ञता मेरो अन्त्येष्टि,
मेरो विशेषज्ञतालाई दागबत्तीको आवश्यकता छ ।
भूमिगत, यसको भाग्य ।

अन्तर्ध्यान र, व्यक्त अव्यक्त अन्तर्ध्यान भएर बाँच्न देऊ ।
स्थितिको सबैतिर मेरो स्थिति मलाई छिनोले छिल ।
म ब्यूँझन्छु, चारैतिरले ब्यूँझन्छु ।

छोडिदेऊ नछेकेर म 'सोलो' हुन गइरहेको छु,
अनि म मिसिएर त्यही सिम्फोनी हुन गइरहेको छु,
मेरो यही आरम्भ थियो मेरो भ्रूणको आरम्भ
ओमिवाको उत्पत्ति
कमसेकम पराजित गर्ने साधन छ भने मलाई पराजय देऊ ।
म हारुँ,
म पदार्थ होऊँ,
म मृत होऊँ ।
एउटा कथा छ (म सुनाऊँ कि ।)
म पैण्टोग्राफ खोजिरहेको छु,
यहाँ हो ए काँचो कुमारी ढुङ्गा ।
अचेल मेरो गीत शुरु भइरहेको छ
अचेल मेरो गीत अन्त भइरहेछ ।