Last modified on 18 मई 2020, at 10:52

चक्र हो जिन्दगी यो / बद्रीप्रसाद बढू

कैले आफ्नै मृदुल मुटुको धून सम्झी रमाई
कैले एक्लै सरल गतिका गीत गाई कराई
कैले कैले धुरु धुरु रुँदै आँसु धारा बगाई
काटें मैले दिनहरू कठै !! कष्टमा छट्पटाई//१//

कैले कोही सहृदयी हुँदा दुःख साह्रा बिसाएँ
कैले कैले हृदय गतिको भावना पोख्न पाएँ
कैले एक्लै धुरु धुरु रुँदै आँशु धारा बगाएँ
मैले धेरै दिनहरू कठै !! कष्ट खाँदै बिताएँ //२//

मैले आफ्नै सुख र दुखका भावना भोग्न पाएँ
बुझ्दै सोच्दै विचलित नभै कर्म गर्दै रमाएँ /
देख्दै भोग्दै सुख र दुखको मर्म मैले बुझेको
घुम्दै जाने सुख र दुखको चक्र हो जिन्दगी यो//३//