Last modified on 5 मई 2017, at 15:50

चैतको बतास / भुवन ढुङ्गाना

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:50, 5 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भुवन ढुङ्गाना |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अनुभूतिले समातेकी छु
हातहरूले छुँदैनन्
यी वर्षहरू हुन्
पछाडि छुटेका ।

वर्षको अन्तिम महिना
चैत छुट्दैछ भारी बिसाएर
पुच्छरमा छ वैशाख झुन्डिएको
चैतको बतासले हल्लाउँछ
बतासले भुँवरी घुमेको छ
फनक्क बितेको यो वर्ष।

अनुभूतिले समातेकी छु
हावाहरूले छुँदैनन्
यी अपरिचितहरू हुन्
बेला–कुबेला दुर्घटनामा परेका
आत्मीयताको गाँठोमा
बिहानीको छापा–खबरले बाँधिएका ।

बतासको गन्थनमा
बारुदको गन्ध
फूलको मालामा
सिनोको दुर्गन्ध

उभिएका छन् लहरै, लस्करै
रामनामी ओढेर
टाउको जोडेर
चैतको बतासमा सयपत्री फूलहरू
ओढेका छन् पिताम्बर
गुनगुन–गुनगुनको मन्त्रोच्चारण
टाउको जोडेर फूलहरू
चैतको बतासमा
अनुभूतिले समातेकी छु
हातहरूले छुँदैनन्
यो वर्षको अन्तिम चैत हो
बताससँगै छुटिरहेको।