Last modified on 13 मई 2017, at 12:50

छालसँग / उमेश लुइटेल

संसार फाँडूला झैं गरेर छालहरू उर्लिरहेछन्
उन्मत्तिएर चिथोर्दै किनारलाई कमजोर र विरूप बनाइरहेछन् ।

उता किनारमै उभिएर कविहरू
छाललाई बिम्ब र प्रतीकमा उनिरहेछन् ।

प्रेमिल संसारको कल्पनामा मग्न जोडीहरू
छालको हिर्काइले दुई वदन एक हुने
समय पर्खिरहेछन् ।

पौडीवाजहरू छालले उछिट्टयाएको पानीका थोपालाई
आफ्नो शरीरमा स्पर्श गराइरहेछन् ।

यो कस्तोअचम्म !
सदियौंदेखि यि पात्रहरू छालसँग मात्र रमिरहेछन् ।

ति किनार र पानीमुनिको भाग गुमनाम छन्
किनकी उनीहरू इमान्दारिताको मेडल भिरेर
कर्तव्यपथमा अडिग रहँदै
चुपचाप नदी बगाइरहन्छन्
नदी बोकिरहन्छन् ।