भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छोरीलाई मानचित्र पढाउँदा / विजय मल्ल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:10, 2 जुलाई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हरे, हरेक राष्ट्रका फाँटमा!
यो हो भारत, यो हो पाकिस्तान
हिन्दू-मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान्!
यो जर्मनी, यो इङ्गल्यान्ड
यो रुस, यो जापान ।
अणुबमले खाएको,
हेर नागासाकी, हिरोसिमा!
हिटलरको भूतले सताएको
यही हो युरोप कङ्काल,
यही हो अमेरिका,
डलरको देश-
'अणुबम' को निर्माता
शान्तिको सन्देश
जता हेर
रातो रगतले लाएको छ घेरा
परेवालाई गन्जकमा बन्द गरेझैँ
मानिस छन् बन्दी यस खोरमा ।
मेरी छोरी,
(कुनै दिन त्यस्तो आउला)
जब सबले मिलेर,
हातमा हात गाँसेर,
अङ्कमालमा बाँधिएर-
हब्सी, आर्य, मङ्गोल
पलिनिसियन, द्रविड, काले
सबले पुछ्नेछन्
आँखाको प्याला घोप्ट्याएर
आसुँले त्यो रक्तरेखा ।
अनि,
धेरै कालपछि-
मेरी छोरी,
कुनै दिन त्यस्तो आउला
त्यो रातो रेखा खोजे पनि
तिमी पाउनेछैनौ त्यहाँ ।