Last modified on 17 फ़रवरी 2022, at 15:55

जय-जयकार छ / गोपाल सिँह नेपाली

झुप्रोमा बस्नेमाथि पनि त्रिभुवनको मनमा प्यार छ
उनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छ

जगमा कति यस्ता राजा छन्
जो जन-जनको मनमा बस्छन्
दुनियाँमा आजादी ल्याउन
आफ्नो घरबाट निस्कन्छन्,
जनताको निम्ति सदा लड्न जुन नृपको मन तयार छ
उनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छ
त्रिभुवनको मनमा प्यार छ ।

जनता कुनै कङ्गाल छ
क्वै भने मालामाल छ
आजाद तर नेपाल छ
राजाले दुनियाँ पाल छ,
यस्तो राजाको शासनमा, झन् जनताको सरकार छ
उनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छ
त्रिभुवनको मनमा प्यार छ !

गोरखाली, नेवारे, भोटे छन्
सुखमा हाँसेर लोटेछन्
नेपाल नयाँ निर्माण गरौं
भनी छलफल गर्न आँटेछन् ।
थ्यो सिंह जहाँ एउटा, अब त दनियाँको दरबार छ
उनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छ
त्रिभुवनको मनमा प्यार छ !

जनताको वन्धन तोडिदिए
मिथ्या आडम्बर फालिदिए
आजादीको झिलमिल बत्ती
घर, वन, पर्वतमा बालिदिए
राजा छन् अरू, नेपालैमा नारायणको अवतार छ
उनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छ
त्रिभुवनको मनमा प्यार छ !

त्यो राजमहल भन्ने घर त
आजाद प्रजाजनको दिल हो
त्यो क्रान्तिधामको महफिल हो--
स्वातन्त्र्य-सिद्धिको मन्जिल हो
त्यसमा बसी जुन जनसेवक हून्, उनको सेवक संसार छ
उनी राजमहलमा बसे पनि घर-घरमा जय-जयकार छ
त्रिभुवनको मन प्यार छ !