Last modified on 31 मई 2017, at 20:42

जहर पिलाउँछ जिन्दगी / सुमन पोखरेल

मेरा दु:ख मैसँग बिसाउँछ जिन्दगी
दुखेको मन झनै दुखाउँछ जिन्दगी
 
जे भयो नियती थ्यो’ मैले के नै गरेँ र !
त्यसै खोट देखाई रिसाउँछ जिन्दगी
 
अति भयो यहाँ, अब घरै बोलाऊ मलाई
परदेशमा काँडाझैँ, बिझाउँछ जिन्दगी
 
नतिजामा उसकै, हात थियो तैपनि
विफलता देखाई खिज्याउँछ जिन्दगी
 
बाँच्नु भन्नु नै बिष पिई बाँच्नुरहेछ
जीवन भनी जहर पिलाउँछ जिन्दगी
 
जिन्दगीकै लागि पनि जित्नुपर्ने रहेछ
हार देख्ने बित्तिक्कै गिज्याउँछ जिन्दगी
 
गर्दैन किन, विश्वास तेरो सुमन ?
तँसँग किन यस्तो डराउँछ जिन्दगी