Last modified on 31 मई 2017, at 09:54

जाजरकोट / सुवास खनाल

तस्वीर खिच पत्रकार
हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान्
तिम्रा बिकाउका सामान बन्नेछन्

सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ –
……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ …..

रेडियो नेपाल
तिमी केही हिन्दी गीत सङ्गीत
र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ
नेपाल टेलिभिजन
तिमी फिल्मी काउन्टडाउन र पप भिडियोहरु बजाउँदै बस

बिबिसी
तिमी चिप्लो स्वरमा
कुनै दिवङ्गत प्रधानमन्त्रीको जीवनगाथा प्रस्तुत गर
भन्दै बस –
उहाँ देशका प्रधानमन्त्री ,तिमीहरु जाबो नागरिक
उहाँ सिङ्गो नेपाल, तिमीहरु नाथे जाजरकोट

केन्द्रीय बुद्धिजीवी
तिमी चिया गिलासमा देशको संविधान बनाऊ
बेलुका दारु महलमा पसिना पुछ : डा. केसीको दिमाग ठीक छैन

सरकार
राहतको नाममा
केही मिति गुज्रिएको औषधी पठाऊ
कसले पढ्लान् र चिप्लेकीरा जस्ता अक्षरहरु ?

बरु नफैलियोस्
यो महामारी सिंहदरबार ,
संसदभवन वा राष्ट्रपति कक्षमा
र नतर्साउन् प्रेतहरुले सपनामा

हामी जाजरकोट
हाम्रै जीवनसँग अभ्यस्त छौँ
बरु तिम्रा दैनिकीहरुलाई बाधा पुग्ला
तिमी आफ्नै बारे सोच ।