Last modified on 24 जून 2020, at 14:33

जीवनगीत / रमेश क्षितिज

निस्कनू –आसुको ऐना हेर्न छोडेर
कुल्चदै सुकेका पातहरूजस्तो उदासीको सुरुङबाट
आफैले बनाएको निराशाको अध्यारो
तारबारबाट निस्कनू र हेर्नू
पल्लोतिर भेटिनेछ –इन्द्रेनीको स्वागतद्वार

डाली डालीमा उफ्रिदै नांचिरहेका चराहरू
हजारौ ठेस सहेर सङ्र्लिदै हिडेको बटुवा नदी
विजय जुलुसमा सामेल
अवीरले रङ्गिएका आशावादी जनताजस्ता रङ्गीन फूलहरू
फैलिदै गएको सपनाजस्तो निक्खर आकाश
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरू,

तिमीसँगै हुनेछ बाँच्नलायक
एउटा सिङ्गो र सुन्दर पृथ्वी

जसलाई तिमीलै दुःख भन्यौ
त्यो त तेजाबी गहना तिम्रा मखमली आँसुका पत्रै–पत्रहरूले बुनेको
जसलाई तिमीलै चोट भन्यौ त्यो त मायालु स्पर्श
कुनै महान कलाकारले रुखो ढुङ्गालाई ताछदै मूर्ति बनाएजस्तो
तिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूति

साँच्ची एकपल्ट बाँच्न जानेपछि
जति निमोठ्यो उति पलाउछ जीवनको मुना !

जुन दुःखले दुखे भन्छयौ तिमी
त्यो आफैले रोपेको विरुवा – आफ्नै मनको गमलामा
बार्दली वा भर्‍याङमा
वा पस्ने ढोकाछेउ आँगनको एक कुनामा

आफैले उमारेको दुःखको क्याक्टस बढ्दैजान्छ दिन प्रतिदिन
र त्यसैमा अल्झेर रगतपच्छे हुन्छौँ हामी अचानक
र सराप्नथाल्छौँ पुराना मित्रजस्ता दुखहरूलाई व्यर्थै

समाचार वाचिकाले झै मुस्काएरै झेलिदिनू दुखको खबर
नदुख्नू– माझेर राख्नू बरु त्यो पुरातात्विक दुख
प्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटो
असह्य लाग्छ मलाई !