Last modified on 22 मई 2017, at 08:26

जून पश्चिमास्त भइरहेछ / उदय निरौला

पुतलीसडकको त्यो सेकुवा पसल नजिकै
प्रतीक्षारत त्यो अप्सरा
मसाज टेबुलभित्रबाट बाहिरिएकी छे
पत्रकार क्यामरा क्लिक गर्छ
नेता भटमास लिएर बङ्गुर चपाउँदैछ
प्रतीक्षारत त्यो बिचरी
समय व्यर्थ बढार्छे ।
जून हाँस्दैहाँस्दै आफ्नो अक्षमा
पश्चिम सरिरहेछ
रात नाच्दैनाच्दै क्याफेभित्र छिरिरहेछ
सिंहदरबार उता नजिकमा किच्च पल्टिरहेछ ।
ह्याकिङमा व्यस्त छ एउटा नेता
ब्रेनहरूको ह्याकिङमा
डिलिट गरिरहेछ अवचेतन मस्तिष्क
हिडेनमा रहेका इच्छाहरूलाई कैयौँपल्ट
रिमुभ गर्छ
तर हुँदैन डिलिट हुँदैन रिमुभ
थाक्छ र त्यो ह्याकिङमा व्यस्त नेता
प्रतीक्षारत अप्सरालाई कन्ट्याक्ट गर्छ
तुरुन्त भेट्छ
आकाशमा जून मुस्कुराउँछ
अँध्यारोमा धुन गुन्गुनाउँछ ।
अम्लिसोको पातले काटेका औँलाहरू
नओबाउँदै सिंहदरबार र पुतलीसडक
ठमेल र जमलका डान्सबार
छिर्न जानेको त्यो मान्छे
संविधानकै लागि
जनताकै लागि
सिंहदरबारको धूसा ओड्छ
धूसा ओडेर मादकताका साथ
सेकुवाको स्वादमा
मसाज छिर्छ ।
यी दुनियाँका पुराना कुराहरू हुन्
हिटलरका पालामा मात्र हैन
महाभारत कालमा पनि दुर्योधन त्यही गर्थ्यो
र दुर्वासालाई वश गर्थ्यो
द्रौपदीको भान्सा निखार्न
र महत्त्वाकाङ्क्षा तिखार्न ।
प्रकृति अलि भिन्न छे
उसलाई दपेटेकोमा उसैमाथि खनिन्छे
दृश्यभन्दा परको अदृश्य प्रकृति
त्यसखालको मान्छेलाई पूर्णतः स्खलित गरिदिन्छे ।
प्रतीक्षारत त्यो प्रकृति देवीलाई
टेबुलमा नपुर्‍याउँदै ऊ स्खलित भइसक्छ
रिजर्भ गरिएको त्यो बेड उसै खाली रहन्छ ।
प्रतीक्षारत अप्सरा आफ्नो बाटो लाग्छे
अलिकति उसको स्खलित अभिमान बटुलेर
अलिकति सिंहदरबारको आर्थिक सहायता बोकेर
पत्रकार क्यामरामा उङ्दैछ
साहित्यकार अलमस्तले बियरमा कविता भएर डुब्दैछ
र उता गाउँको किसान
गिठ्ठा मासिएकोमा नेतालाई सराप्दैछ
जून पश्चिमास्त भइरहेछ ।