भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ज्ञानेन्द्रीय कविता / विक्रम सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखा

दशैँ खसिको गर्धन छिनाएर झोक्रिएर बसेको
रक्तरंजित हतियारका क्रुर नक्सा हेर्न छोडिसकेँ
कुकुरबिरालोजस्ता पार्टीका कुर्सि लेनदेनको कुरामा
बबाल झगडाको चुत्थो मिशिल हेर्न छोडिसकेँ
छोरीलाई बिनाअंश रुँदैरुँदै बाबु-आमाले
गरेको कपटी बिदाई हेर्न छोडिसकेँ
चेलीबेटी बेचबिखन संरक्षक
घृणित मन्त्रीको कालो मुस्कान हेर्न छोडिसकेँ
चोरहरूले लेखेको स्कृप्ट मुताबिक प्रहरीले
खेलेको सुरक्षागस्तीको नाटक हेर्न छोडिसकेँ
तर आफ्नो आँखा कतै छोडेको छैन
किनभने, यही धर्तीमा एक दिन
मैले जिन्दगीको सुन्दर रुप हेर्नुछ

कान

अपहेलित कामरेड आफ्नै पार्टीको निँदालमा
झुन्डि मरेको ब्रेकिङ न्युज सुन्न छोडिसकेँ
एक व्यापारीले दरबारीया सम्गलरबारे
बाचन गरेको खुराफाती रामायण सुन्न छोडिसकेँ
एक न्यायमूर्तिले कुनै क्रान्तिकारीलाई सुनाएको
फाँसीको चाणक्य फैसला सुन्न छोडिसकेँ
फिरंगीहरूले तैयार गरेको
यो मुलुकको पार्टपुर्जा बदल्ने सम्झौता
पाँचतारे ह्वस्की टेबलमा सरकारले
दस्तखत गरेको खबर सुन्न छोडिसकेँ
तर आफ्नो कान कतै छोडेको छैन
किनभने, एक दिन मैले पनि
मेरा देशबासीको बिजय गीत सुन्नुछ

मुख

कुखुराको लाशबाट लाछेर तेलमा तारेको
आफ्नै तिघ्राजस्तो साँप्रा
अर्थात फ्राइ चिकन चपाउँन छोडिसकेँ
आफ्नै छातीजस्तो बोसिलो
ह्याकुला खसिको टोक्न छोडिसकेँ
दुरुस्त आफ्नो मुटु कलेजो भुटेर प्लेटमा पस्केजस्तो
राँगाको पेट चिरेर निकालेको भुटुन खान छोडिसकेँ
तर मेरो मुख कतै छोडेको छैन
किनभने, यही मुखले चुमेर एक दिन
पत्तो लाउँनु छ स्वाधीन नेपालको स्वाद

नाक

कुनै दोकानको नाफाखोरझैँ मग्मगाउँने अत्तर
यो जोरनाले नाकले सुँघ्न छोडिसकेँ
रक्सी पसल्नीको गालाजस्तै प्लास्टिकको थुँगामा
सुगन्ध खोज्दै नाक तन्काएर बहकिन छोडिसकेँ
दक्षिणबाट पस्ने कुनियत मिस्सिएको बतासमा
सजिव अक्शिजन खोज्दै लामो सास तान्न छोडिसकेँ
सातसमुद्र पारीबाट प्रेशित व्यापारिक पार्शलमा
मेरो समाजको कल्याणी सुगन्धको आशा छोडिसकेँ
तर मेरो नाक कतै छोडेको छैन
किनभने, मेरो नेपाल कुनै दिन
फुलबारी भएको सुगन्ध मैले थाहा पाउँनुछ

स्पर्श

आफ्नाको अनुहार ओढ्ने ब्वाँसाका सुनचाँदी
यी हातले छुन छोडिसकेँ
नि:शुल्क पाएको अपुताली भाग समाउँछ छोडिसकेँ
मैत्रीको निम्ती भन्दै कुनै हरामीले
बढाएको खतरनाक हात मिलाउँन छोडिसकेँ
मन्दिरमा सँधैँ पाल्नु पर्ने कुनै जवान अल्छी भगवतीका
संवेदनाहिन चिसा पाउहरू सुम्सुम्याउँन छोडिसकेँ
तर मेरा हात कतै छोडेको छैन
किनभने, म अब गाउँ जाँदैछु
र मैले यिनै ईमान्दार हत्केलाले
आमाका पवित्र पाउमा छुनुछ