Last modified on 9 जून 2020, at 21:57

झझल्को / सुमन पोखरेल

मेरा गीतहरूमा
एउटा बाढीले
धड्कनका छालसँगै
दुईटा आँखा भएर
बगाउँछ मुटुलाई
सुस्केराको लय समातेर ।

टाढिएको समयको झझल्को
समाउन खोज्छ क्षितिज
दृष्टि भएर ।

वातावरणभरिका
परिवेश वरिपरिका
काँडाका घोचाइहरूमा
सुस्केराको सङ्गीत गुञ्जिन्छ;
आफ्नै स्मृति वरिपरि
लुक्न खोजिरहेका
आँशुका थोपाहरूलाई ब्यूँझाएर ।

जहाँ
खै कुन्नि के हो
मुस्काउन खोज्छ,
अवचेतनका खोल्साहरूमा
बिछोडका फाल्साहरूमा;
रगत झैं
रातो र दुखाइपूर्ण भएर ।