भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तस्विरसँग / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो मन्द उज्यालो
यो मन्द अँध्यारो
मन्द प्रकाश
मन्द अन्धकार
मा
तिम्रो तस्वीर
मुख छोपेको केशले
मुख छोपेको हातले ।

मन्दमन्द मात लागेका
मेरा आँखा
मेरो शरीर
मेरो रगत
मेरा कामना ।

हावाले हल्लाएका रुखका हाँगाहरू
र सुकेका पातहरू
र झ्यालका पर्दाहरू
का आवाजहरू,

सरसर खरखर बीच
बतासले झारेका फूलहरू
र फलहरू
र भित्ताका तस्वीरहरू
का स्वरहरू,

टक टक टक टक बीच
तिम्रो आहट झैँ
पर कतै
बाँसुरीले लय हाल्यो
पर कतै
मौसमले वसन्त ल्यायो ।

तिम्रो मुस्कानले तस्वीरको
सुस्तरी भन्यो
पर्खिराख म आउँदैछु ।