Last modified on 28 जून 2020, at 12:06

तस्वीर / लक्ष्मीप्रसाद देवकोटा

(१)
भनन भनन नानी । के गरी भो तयार ?
कति रससित राम्रो क्या मजा ! चट क्या र ?
सकल मुख दुरुस्तै पार्न सक्ने अपार
कति चतुर कुरा यो जो छ तस्वीर सार ॥

(२)
मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ
रंग पनि त लुगाको ठिक्क क्या हेर । बन्छ ।
रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त
म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ॥

(३)
सब जनकन यस्तै चित्रकारी कुनैले
बुरुशसित बनाए क्यार ! कल्पेर पैले ।
हृदयभर भएका रङ्न पाए विचार
कति कति दुनियाँमै गर्न सक्थें तयार ॥

(४)
जति जति यसलाई हेर्छ यो बन्छ सच्चा
अनि सब मुख बोल्छन् हुन्न क्यै हेर कच्चा।
छिनभर यसभित्रै घुस्छु संसार पाई
जसतिर मनमौजी सौख मिल्छन् मलाई ॥

(५)
जब नजर लगाई जो पढेको सुनेर
मन मन म विचार्ने बन्छ ध्यानी बनेर ।
मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा
रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ॥

(६)
हिंडन हिंड सँगी ए ! एक हाँगा चढेर
तलतिर सबलाई बीच तस्वीर हेर ।
म त दिन दिन पढ्ने गर्छ त्यस्तै गरेर
कति कति दुनियाँमा चित्रका नै पसेर ।