Last modified on 18 अगस्त 2016, at 18:42

तिमी समुद्रजत्तिकै नजिक अनि त्यति नै टाढा / मदन रेग्मी

म आँधी र समुद्रबीच पानीको पहरामा
तिमी समुद्रजत्तिकै नजिक
अनि त्यति नै टाढा
लाग्दछ यी बाक्ला रूखहरू
र गुनगुनाउँदा धानका बालाहरू
मेरो एकलासे बोझलो स्वतन्त्रता
र यी पहाडहरू सबैभन्दा पीडाका मुहान भएर
हात फैलाएर उभिएको छु
जरा नभएको अजङ्गको रूखका फैलिएका
हातका हाँगाजस्ता आँधीबेहरीको प्रतीक्षामा
तिमी त्यसरी नै आयौ
समुद्रको छलाङभन्दा पनि उत्कृष्ट
भेटेँ/चिनेँ/पाएँ तिमीलाई
र गुलाफका काँडाहरूसँगै रोइदिएँ
तिमीसित बिदा मागेँ जब सदाका निम्ति
मैले चिनिनँ कि...
वियोगका रहरलाग्दा प्रक्रिया
तिमीसित तिमीबाट पर
जब म सर्पले डसेको विभ्रान्त निद्राबाट ब्यूँझएँ
यो आउँदो-जाँदो दोहोरिने
हत्यारा बिहान
एक्लो म
अनि मृत्युको राम्रो कुकुरसित खेल्दै
तिमीसम्मै पुग्न खोज्ने
तिमी समुद्रजत्तिकै नजिक
अनि त्यति नै टाढा
लाग्दछ अब त यसरी
यी सुसेल्दा रूखहरूका माझ
र गुनगुनाउँदा धानका बालाहरूका गीतको तरङ्गसितै
हाँस्दै हरियो जवानमै मरिदिऊँ
चुपचाप/निःशब्द/एक्लो
तिमी समुद्रजत्तिकै नजिक
अनि त्यति नै टाढा