Last modified on 26 जुलाई 2016, at 05:54

तिम्रा आँखा / सुमन पोखरेल

 
तिम्रा आँखा कतै कहीँ अरुसँगै झुके होलान्
न्याना तिम्रा अधरले अरुलाई नै चुमे होलान्
म त एक्लो त्यसै पनि एक्लै ओठ टोकिरहुँला
अनन्त हुन् तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला

विछोडको आघातमा मुटु झनै चल्न खोज्छ
सम्भव भए बाहिर निस्की सलाइझैँ बल्न खोज्छ
पराई भयौ तिमी अब माया भने साँचिरहुँला
अनन्त हुन् तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला

माया चोट भएपछि मन यस्तै रुँदोरहेछ
शरीर हिँडछ यताउता, मन त्यहीँ हुँदोरहेछ
सँधै तिम्रो सम्झनालाई छातीभरि टाँसिरहुँला
अनन्त हुन तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला