Last modified on 1 मार्च 2017, at 14:31

त्यसउप्रान्त / राजव

सब दुःखहरूको निवारण हुनेछ
क्रान्तिले सुख ल्याउनेछ
सबलाई आश थियो, त्यस्तै हुनेछ ।
त्यसउपरान्त ठालू कोही हुनेछैन
हरेकको हक बराबर हुनेछ
त्यसउपरान्त सुखी हुनेछन् नेपाली ।
तर, त्यसउपरान्त अर्कै भयो
शासक न्युयोर्क, दिल्ली र पेकिङ्को उडान भर्न थाल्यो
उसको सत्कारमा धनाढ्य ओइरिन थाले
तिनको भोजमा ऊ रमिएको देखियो ।
त्यसउपरान्त उसलाई
आफैँले सरापेका राष्ट्रहरू
बढी रुच्न, पच्न थाल्यो ।
त्यसउपरान्त ऊ
क्यापिटलहिल र जन्तरमन्तर सुन्न थाल्यो
त्यसउपरान्त निर्धनसँग मिल्ने उसका हातहरू
बुस, मनमोहन, शाकोजीसँग मिल्न थाले
त्यसउपरान्त ऊ विलासी शासकका
प्रतिरूपजस्तो देखिन थाल्यो ।
त्यसउपरान्त यस्ता
झन्झन् के-के आश्चर्य देख्नुपर्ने हो
कष्टका दिन झन् कस्ता हुने हुन् ?
त्यसउपरान्त, यस्तो पो हुने रहेछ
त्यस्तो हुने रहेनछ
त्यसउपरान्त उसको अनुहार
क्रान्तिको जस्तो हुने रहेनछ ।