Last modified on 3 मई 2020, at 11:13

नशा पिई / गीता त्रिपाठी


नशा पिई हाँस्छौ तिमी
होशैमा म रून्छु
जोश बढ्छ तिमीभित्र
म बेहोशै हुन्छु
 
तिमीलाई कुर्दाकुर्दै आधा रात बित्छ
सिरानीको आधा पाटो आँसुले नै भिज्छ
मेरो जीवन लर्खराउँछ तिम्रो पाइलामाथि
गहिरिन्छ दर्द अझै एक्लै खप्छु राति
तिम्रो होश फर्किएला यस्तै आश बुन्छु
जोश बढ्छ तिमीभित्र म बेहोशै हुन्छु
 
खुसी जान्छ छेउलागि आउँछ आँधिबेहरी
कालो बादल मडारिन्छ मलाई घेरीघेरी
जसको साथ लागि आएँ उसकै छैन भर
बेसहारा जीवन भयो डरैडरको घर
हररात ढुकढुकीमा आफ्नै मृत्यु सुन्छु
जोश बढ्छ तिमीभित्र म बेहोशै हुन्छु