Last modified on 5 मई 2017, at 11:37

नाटक अवसानको बेला / रत्न शमशेर थापा

सही रूपमा एक अङ्क नै पूरा नहुँदै
किन बदलिँदै गइरहेछन् यति छिटो
यहाँ खेलिने नाटकका दृश्यहरू
फटाफट–फटाफट
भाँचिँदै बीच–बीचमा सिलसिला ।

बिजुलीको झल्याकझुलुक–मल्याकमुलुकमा
फेरिँदै जान्छन् आकारहरू पर्दाहरूका रङ्गमञ्चका
राता, नशिला घुमाएर अतृप्त आँखाहरू
अभिनयको नाउँमा पुट्ठा हल्लाउँदै
ढुनमुनाउँदै, नीला गिजा ङिच्याउँदै, लरबराउँदै
भकभकाउँदै रटेका पाठ यो चिसो रातमा ।

आपसमा झुत्ती खेल्दै, फतफताउँदै
निर्लज्ज ओकलिरहेछन् निस्ता संवाद
चढेर होला ठर्राको उन्माद
बाँध्न दर्शकहरूलाई मोहपाशमा
हाँकिरहेछन् डिङ अल्लारे पात्रहरू
मुन्टो फर्काएर आकाशमा नचाउँदै बिटुला हात
ओहोरदोहोर–ओहोरदोहोर गरिरहेछन्
रङ्गमञ्चको एक कुनादेखि अर्को कुनासम्म
त्रुटि लुकाउन लपेटेर नक्कली तासको लिवास
ताली र प्रशंसाको प्रतीक्षामा
ठसठसी कन्दै खोजिरहेछन् चुँडेर छरिएका
गीतका गेडाहरू बटुलेर जोड्न अनुप्रास
एउटै बोल घरी–घरी ठटाउँदै मादलमा
पाप्राहरू खरीको झार्दै एकनास
नङ्ग्याइरहेछन् आफैँले आफूलाई उघारेर
आफैँले रचेको झुसिलो इतिहास ।
 
पड्केर दोबाटोमा ट्रान्सफर्मर निभ्छन् बत्तीका मालाहरू
चाउरी परेका अन्धकारका तन्किन् छन् सारा छालाहरू
होहल्ला सुइय्य सिटी गन्द्राङगुन्द्रुङ
अनि बन्द आवाज
चकमन्न एकलास
चिर्न बाएर सुरसाको मुख मेट्न तलतल
काँचा वायुहरूले रचेका नाटकको अवसानमा
खिलखिलाउँदै भित्ता सिलिङको कालकानमा
समाधिमा लीन हुन खोज्दैछ यो पुरातन हल ।