भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

निज़ार क़ब्बानी / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

निज़ार क़ब्बानी - परिचय

नेपालीमा

निजार कब्बानीको जन्म २१ मार्च सन्‌ १९२३ मा सिरियाको दमास्कसमा एक मध्यमवर्गीय व्यापारी परिवारमा भएको थियो।उनको पूरा नाम निजार तोफिक कब्बानी थियो।

विद्यालयको पढाइ सकिएपछि कब्बानीले दमास्कस विश्वविद्यालयमा अध्ययन गरी सन्‌ १९४५ मा कानूनमा स्नातक गरे।अध्ययनकै क्रममा उनले पहिलो कवितासङ्ग्रह 'कलिथ लि असमराह' 'सुन्दरीले मलाई भनिन्‌' तयार गरे।नारी शरीरको प्रचुरतम्‌ वर्णन गरिएका शृङ्गारिक कविताहरू समावेश भएको उक्त सङ्ग्रहले दमास्कसको पुरातनवादी समाजमा ठूलै हलचल ल्याउने सम्भावना देखिएकोले उनले तत्कालिन शिक्षा मन्त्री मुनिर अल अज्लानीलाई पाण्डुलिपि देखाए।अज्लानीले मनपराएर प्रकाशनको लागि स्वीकृति मात्र दिएनन्‌, उनको त्यो पहिलो सङ्ग्रहका लागि भूमिका पनि लेखिदिए।

कानूनको अध्ययन सकेपछि निजार कब्बानी सिरियाली परराष्ट्र सेवामा प्रवेश गरे र बेरूत, कायरो, इस्टनबुल, मेड्रिड, लन्डन लगायतका राजधानीहरूमा रहेर काम गरे।सन्‌ १९५९ मा संयुक्त अरब रिपब्लिकको गठन भएपछि उनी त्यसको उपमहासचिव भएर चिन गए।सन्‌ १९६६ मा राजिनामा दिएपछि उनी बेरुतमा आफ्नै नाममा स्थापना गरेको प्रकाशन संस्थाको रेखदेखमा लागे।

निजार कब्बानीले 'कलिथ लि असमराह' (सुन्दरीले मलाई भनिन्‌), 'अन्न्त ली' (तिमी मेरी), 'असआर अह्डिगह अली अल कानून' (कानूनका विरोधमा कविता) तथा 'अलहूब या लकस अली अक्दोअ अल अहमर' (प्रेम रातो बत्तीमा रोकिँदैन) लगायत चौँतीस वटा कवितासङ्ग्रह प्रकाशित गराए।

आफ्नी काकाकी छोरी जाहरासँग र बगदादको एउटा कविता सम्मेलनमा भेट भई नजिकिएकी इराकी महिला बाल्किस अल रवीसँग गरेर निजार कब्बानीले दुई विवाह गरे।कान्छी पत्नी बाल्किस लेबनानी गृहयुद्ध चलिरहेका बेला एउटा बम आक्रमणमा मारिएपछि उनी लन्डन गए र उतै बसे।सन्‌ १९९७ मा निकै सार्‍है बिरामी परेर अलि बिसेक भएको केही महिनापछि ३० अप्रिल सन्‌ १९९८ मा हृदयाघातका कारण कब्बानीको लन्डन मै निधन भयो।

उनले बिरामी छँदा गरेको इच्छापत्रमा आफ्नो अन्तिम संस्कार दमास्कसमा गरिइयोस्‌ भनेका हुँदा कब्बानीको शवलाई दमास्कस लगेर सदगत गरियो।उनको निधनमा विश्वभरि फैलिएर रहेको सम्पूर्ण अरब जगतले शोक गर्‍यो, अरबी सञ्चारमाध्यमहरूले हप्तौँसम्म उनको योगदानको चर्चा गरिरहे।