Last modified on 5 जुलाई 2017, at 16:14

नितान्त आफ्नो / सविता गौतम दाहाल


हेरिरहुँ जस्तो
जति हेरेपनि हरीनै रहुँ जस्तो
मानौं नवसिर्जीत कुनै कविता
जगमगाइरहेको कुनै सुन्दर
गहनामा जडीत हीरा ।

कला र शिल्पको मिलन
बयान गर्न स्वस्फूरित मनोभावहरु
शिल्पकारको सिर्जनामा
मुद्रित नयन नक्शहरु ।

हिजोपनि कत्तिले मनपराएर हेरिरहे
मोहित भएर टोलाइ रहे
एउटै मात्र त्यो अनुपम
मानौ सानी बालीकाको
निश्चल निर्मल छमछम ।

हरियाली पूर्ण उपवनझैं
यत्रतत्र उमंगका कोमल लहराहरु
इन्द्रेणीका रंगहरु
जहां हराउदै छन्
सारा गतिहीनताको तीखा शुलहरु
हिजोसम्म मौनतामा विलिन विपत्ति र उल्झनहरु ।

स्वर्गीय अनुभूति
स्वच्छन्दता अनि सून्दरतामा
विचरण गर्दोरहेछ
सुवासित मन पारिजातवनि
झलल झल्किरहेछ
एउटा शालीनतापूर्ण टल्काइमा
विशुद्ध हीरा जस्तो ।

यो पुर्नजीवन
जीवनरत्नझैं वहुमुल्य
एउटा रक्तरंजीत जीवनमुल्यको
सूर्याेदय झै.
एउटा अनुभवी लाली चढेको छ
शीत दुवोमा चाँदनीझैं टल्किरहेछ ।

निस्पट्ट अध्यारोमा हराएको एउटा आदर्श
उज्यालोको आगमन दर्शाउँदै
यावत विसंगतिबाट भएको छ
आज अवकाश ।

सांचै आज यो एउटा पूर्नजीवित
धरतीको आफ्नो
नितान्त आफ्नो आकाश
हेरीै रहुँ जस्तो
जतिनै हेरेपनि हेरीनै रहुँ जस्तो ।
मानौं नवसिर्जीत कुनै कविता
जगमगाइ रहेको कुनै सुन्दर
गहनामा जडीत हीरा ।