Last modified on 25 सितम्बर 2016, at 22:48

नीला पहाडहरुछेउ / रमेश क्षितिज

यी नीला पहाडहरू कसलाई पर्खिरहेछन् ?
यो बतास कससँग साउती गरिरहेछ ?
डाँडामा घुर्मेलो घाम तल–तल झरिरहेछ
यी रूखमा, गोरेटोमा कसको स्मृति अल्झेको छ !

जिन्दगी हिँडेर उभिएको हुन्छ
उभेर जिन्दगी हिँडिएको हुन्छ
यो सङ्लो नदी, यहाँ युगौदेखि बगिरहेछ
यो बाटोमा उकालीमा कसको आँसु खसेको छ !

यी धुपीका बोटमा सुस्ताई जाने को हो ?
पारि कहीँ मिठो गीत गुन्गुनाउने को हो ?
हिउँदमा झरेका हाँगा–पातहरू पलाइसकेछन्
साँझको आकाशबाट तारा कहाँ झरेको छ !