Last modified on 24 नवम्बर 2019, at 22:40

पख पख, यो रात च्यातौँ / सुमन पोखरेल

अनि
एउटा मरेको चुरोट
च्यापे पनि भयो ।

यो दिनहरूको रातमा
यो विचारहरूको रातमा
यो युक्तिहरूको रातमा ।

यो मृत्यु होइन
केवल एउटा रात हो ।

यहाँ जीवन छ
तर निस्कृय ।
यहाँ सबै चिज छ
तर अवचेतन ।

यो हुँदै नभएको हैन
केवल छोपिएको हो
रातको रातीय पर्दाले ।

सबै मिलेर च्यातौं
यो रातलाई
मान्छे त हामीहरू पनि छौं
उनीहरू पनि हुन् ।

एउटा चुरोट भिज्यो भने
पैसा नास भएको मानेर
दुःख मान्ने वा
फोक्सो जोगियो भनेर
खुसी हुने ?

कहिलेसम्म यो विरोधाभास
खेलिरहोस् मनभित्र ?

निर्णय गर्नैपर्छ
यो रात च्यातेर अब
उज्यालो सिउनै पर्छ ।