Last modified on 16 मई 2020, at 22:24

परिभाषा / प्रकाश सायमी

धेरै कुरा बद्लिएको छ
यो मानवशालामा ।
नबद्लिएको एउटा कुरा छ यो
त्यो हो परिभाषा ।

परिभाषा,
सबैका दुइटा भएको छ ।
नयाँ र पुरानो ।
दरबार नयाँ
सडक नयाँ
कानुन नयाँ
संविधान नयाँ
तर मान्छे पुराना भएका छन् ।

मान्छे पहिले थिए
अहिले जनता भएका छन्
पहिले मूर्त थिए
अहिले अमूर्त भएका छन्
शासक चाहन्छन्
हतियार किन्न
विदेश भ्रमण गर्न वा सेना रुपान्तरण गर्न ।
तर नाम सारिन्छ जनताको ।
साँच्चै यो कुरा नयाँ भएको छ
दरबार पुरानो राजा नयाँ
राजा पुरानो युवराज नयाँ

नयाँ अनुहार यति विध्न छाए यो शहरमा
आँखा खोल्न पनि गाह्रो भो
आँखा पुरानो चश्मा नयाँ
यो अन्जान शहरमा नचिनिकन नमस्ते सलाम दुआ भन्न गाह्रो भो
बीच बजारमा उभिन्छु, देख्छु
बजार पुरानो बजार भाउ नयाँ
पहिले तोलामा बिक्थे नेता
अहिले मासामा बिक्न थालेका छन्
यो कुरा नयाँ भएको छ

नवीनतालाई जोगाउने कुरामा
इतिहास पुरानो भो
मुश्किल छ यो समय
यति धेरै नयाँ अनुहार
नयाँ आवाजको कोलाहल
आवाज चिन्ने कला पुरानो कुशलता नयाँ भएको छ
नयाँ नयाँ
यति नयाँ
अब नयाँ भन्ने शब्द नयाँ
अर्थ पुरानो भएको छ
यो कविता छापिउन्जेल
कविता नयाँ
कवि पुरानो
यो कविता पढुन्जेल पाठक नयाँ
कविता पुरानो
सबथोक नयाँ
अर्थ पुरानो भएको छ, ए ।